प्रदेश न‌ं ७ नेकपा एमाले संसदीय दलको नेतामा शाह

Prakash shah 2 1722018054946 1000x0

काठमाडौँ । प्रदेश न‌ं ७ नेकपा एमालेले संसदीय दलको नेतामा सांसद प्रकाशबहादुर शाह निर्वाचित भएका छन् । बाजुरा जिल्ला प्रदेश सभा (ख) बाट सांसद बनेका शाह नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत हन् । 

शुक्रबार विहान बसेको प्रदेश ७ को संसदीय दलको बैठकले सहमतिमै नेता चुन्ने निर्णय गर्दै त्यसको जिम्मा रावललाई दिएको थियो । आकांक्षी सांसदहरुसँग परामर्श पछि कैलाली सांसद दीर्घ सोडारी र कञ्चनपुर सांसद तारा लामा तामाङले संसदीय दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सांसद शाह निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनका क्रममा प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका रुपमा अघि सारिएका एमाले वैकल्पिक पोलिट्ब्युरो सदस्य कर्णबहादुर थापा समानुपातिकमा नपरेपछि बाजुराका एमाले नेता तथा कार्यकर्ताहरुमा  निरास थिए । शाह संसदीय दलको नेता निर्वाचित भएपछि अाशामा बदलिएको छ ।

पोलिटब्युरो सदस्य थापा प्राविधिक कारणले समानुपाितकतर्फ सांसद नभएपछि शाहले मुख्यमन्त्रीमा समेत दाबी गरेका थिए । वाम गठबन्धनको सहमतिमा प्रदेश ७ काे मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा परेपछि शाहले स‍ंसदीय दलको नेतामा दावी गरेका थिए । 

एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाजुराको सस्थापक अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका सांसद शाह एमालेका बौद्धिक युवा नेताका रुपमा परिचित छन् । निरन्तर रुपमा राजनीतिमा क्रियाशिल शाह नेकपा एमाले जिल्ला कमिटी बाजुराका पूर्व अध्यक्ष समेत हुन । नेकपा एमालेको नवौं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले नेकमा एमाले अछाम जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । 

वि.स २०४६ सालको परिवर्तनको अान्दोलनबाट राजनीतिमा प्रवेश गरेका शाहलार्इ यो भन्दा पहिले राजकिय पदमा जाने अवसर कहिल्यै जुरेको थिएन । उनी एक पद, एक ब्यक्ति, एक पटक भन्ने मान्यता बोकेका त्यागी नेताको रुपमा चिनिन्छन् । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा पहिलो पटक एमालेले प्रदेश सभा  उम्मेदवार बनाएपछि उनले नेपाली काँग्रेसका पदम शाहीलार्इ पराजित गरेर सांसदमा निर्वाचित भएका थिए ।  

 

प्रतिकृया दिनुहोस