किन सरकारमा गएन माओवादी ?

Parchanda

काठमडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटकको सत्तायात्रा माओवादी केन्द्र सत्ता नगएपछि पहिलो दिन नै ‘खल्लो’ रह्यो । माओवादी केन्द्रले तत्काल सरकारमा नजाने निर्णय गरेपछि ओलीले आफूसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाउँदै दोस्रो पटक सरकारको यात्रा थालेका छन् ।

माओवादी केन्द्रले एकता प्रक्रिया र सरकारमा जाने कुरालाई प्याकेजमै टुंग्याउने भन्दै तत्काल सरकारमा मन्त्री नपठाउने निर्णय गरेपछि ओलीले बिहीबार सानो आकारको मन्त्रीमण्डल बनाए ।

किन रोकियो माओवादी ?

नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया बुधबारै अन्तिम चरणमा पुगेको थियो । दुई दलका नेताले पटक पटक छलफल गरेपछि एकताप्रक्रियालाई अन्तिम रुप दिँदै त्यसलाई लिपीवद्ध पनि गर्न थालेका थिए ।

 

मंगलबार ललितपुरको मानभनवमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलको एकतालाई निचोडमा पुर्याएका थिए ।

त्यसपछि बुधबार पनि दुई नेताबीच वान टु वान वार्ता भएर त्यही साँझ दुई दलबीच एकताको घोषणा गर्ने तयारी समेत भएको थियो । यहीबीचमा चितवनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपत्यकबाहिर रहेका दुवै पार्टीका नेतालाई काठमाडौँ बोलाइएको थियो । 

काठमाडौँ बोलाइएपछि बुधबार ओली–प्रचण्डबीच वान टु वान वार्ता भएको मानभवनस्थित माओवादी केन्द्रनिकट निर्माण व्यवसायीको घरमा एमाले स्थायी समितिको बैठक पनि बस्यो । अध्यक्ष ओलीले एकताबारे ब्रिफिङ गरेपछि बैठकले आवश्यक सुझावसहित माओवादीसँगको एकतालाई अन्तिम रुप दिने जिम्मा अध्यक्ष ओलीलाई दियो ।

त्यही समय खुमलाटारस्थित प्रचण्ड निवासमा माओवादी हेडक्वार्टरको बैठक बसेर एमालेसँगको एकतालाई अनुमोदन गर्दै नेताहरु दुई दलको संयोजन समितिको बैठकमा भाग लिन मानभवन आइपुगे ।

एमालेमा गुटको बैठक

माओवादीसँगको एकता वार्ता जारी रहेकै बेला नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहको गुटको बैठक पनि काठमाडौँमा बसेको थियो । त्यो बैठकमा माओवादीसँगको एकताका क्रममा वैचारिक नीति र सिद्धान्तबारे नेताहरुबीच चर्चा भएको थियो । बैठकमा अध्यक्ष ओलीले एकपक्षीय रुपमा पेलेर अघि बढ्न खोजेको भन्दै संयोजन समिति बैठकमा वैचारिक नीति र एकताबारे अडानसहित कुरा उठाउनुपर्ने निचोडमा नेताहरु पुगेका थिए ।

के भयो संयोजन समितिमा ?

माओवादीको हेडक्वार्टर बैठक र एमाले स्थायी समितिको बैठक सकिएपछि मानभवनमा एकता संयोजन समितिको बैठक बस्यो । त्यो बैठकमा मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादबारे कुरा उठ्यो ।

स्रोतका अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकारी अध्यक्ष, सभामुख र आलोपालो प्रधानमन्त्री समेत आफूहरुले स्वीकारिसकेकाले नयाँ पार्टीको वैचारिक नीति जनताको बहुदलीय जनवाद राखेर जानुपर्ने धारणा राखेका थिए ।

त्यही बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेता नेपालको भनाइलाई समर्थन गर्दै जबजलाई स्वीकारेर अघि बढ्न माओवादी नेताहरुसँग प्रस्ताव गरेका थिए । त्यसपछि अन्तिममा पुगेको एकता प्रक्रिया केही दिनका लागि सर्यो ।

त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता हुने तर विलय नहुने बताउँदै वैचारिक नीतिलाई अहिले थाँती राखेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । उनले वैचारिक नीतिलाई नयाँ पार्टीको महाधिवेशनबाट टुंग्याउँदा राम्रो हुने बैठकमा बताएका थिए ।

माओवादी नेताहरुले एमालेको यो कदमलाई विगतको सहमतिबाट पछि हट्ने कामको संज्ञा दिएको छ । माओवादीका एक नेताले नयाँ पार्टीको बैचारिक नीतिबारे एमाले नेताहरु पछि हटे पनि एकतालाई टुंग्याउनुपर्ने बताए । उनले एकता प्रक्रिया सकेर मात्रै आफूहरु सरकारमा जाने पनि कुरा दोहोर्याए ।

अनि टर्यो एकता ?

जबजले दुई पार्टीबीच एकता त टर्यो‍ नै ओलीले सरकारमा पनि तत्काललाई एक्लै यात्रा गर्नुपर्यो‍ । बैठकपछि बाहिरिँदै एमाले उपाध्यक्ष वामदेव गौतमले एकताको ९५ प्रतिशत काम सकिएको प्रतिक्रिया दिए । उनले केही प्राविधिक काम बाँकी रहेको प्रतिक्रिया दिएर हिँडे ।

तर, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैचारिक नीतिमै कुरो नमिलेका कारण एकता अड्किएको बताए । ‘हामीबीच वैचारिक नीतिमा कुरा मिलाउन बाँकी रह्यो’, उनले भनेका थिए, ‘अरु सबै कुरा मिलिसकेको छ, यसलाई हामी केही दिनमै मिलाउँछौँ ।’ अन्नपूर्ण  पोस्टबाट

प्रतिकृया दिनुहोस