प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते, बैठक सञ्चालनका लागि सदस्य अनुमोदन

Parde 4

पोखरा । प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।  आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । 

पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राखेको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । 

उनिहरुमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मोहन कुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहेका छन् । प्रदेशसभा सञ्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिए । 

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई आजै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उहाँले निर्देशन दिनुभयो । 
एक घण्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगत रुपमा बैठकलाई सम्बोधन गरेका थिए । 
प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ । 

प्रतिकृया दिनुहोस