प्रदेश नं. २ मा संसदीय दलको नेता छान्न सकस

Rajapa miting

काठमाडौं । प्रदेश नं. २ को संसदीय दलका नेता छनोट गर्न राजनीतिक दलभित्र सकस देखिएको छ ।

प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक आइतबार जनकपुरमा बस्दैछ । पहिलो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन् ।

खासगरी प्रदेश नं. २ मा मधेशी मोर्चा आवद्ध दलले प्रदेश सरकार बनाउँदै छ । यहाँ संघीय समाजवादी फोरमले मुख्य मन्त्री पाउने पक्कापक्की छ ।

शनिबार जनकपुरमा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाली कांग्रसको बैठक बसे पनि संसदीय दलको नेता छनोट हुन सकेन ।

फोरमले संसदीय दलको नेता चयन तथा प्रदेश सभा बैठकको पूर्व तयारीका लागि शनिबार दिउँसोदेखि नै बैठक बसे पनि अबेर साँझसम्म कुनै निर्णय गर्न सकेन ।

यतिसम्म की राजपाको केन्द्रीय पदाधिकारीको जनकपुरको सीताशरण होटेलमा बसेको बैठकमा संसदीय दलको नेता चयनको विषयले प्रवेशसमेत पाउन सकेन ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्रनारायण यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा लगायतको सहभागिता रहेको बैठकमा संसदीय दलको नेता छान्ने कुनै कुरा उठ्न सकेन । सो बैठक प्रदेशसभाको प्रथम बैठक बस्नु अगावै संसदीय दलको नेता चयन गर्ने उद्देश्यले बसेको थियो ।

बैठकले प्रदेशसभाको पहिलो बैठकको तयारी स्वरुप हुने सर्वदलीय बैठकमा सुरिता साह, अभिराम शर्मा र परमेश्वर पठाएको छ । त्यसैगरी पैनल अध्यक्षतामा नवल किशोर साहको नाममा सहमती भएको हो । कार्यव्यवस्था परामर्श समितिमा सुरिता साह र मनिष सुमनलाई राखिएको छ भने नियमावली मस्यौदा समितिमा राम नरेश राय, डिम्पल झा र रमेश पटेल रहेका छन् । आइतबार हुने पहिलो प्रदेश सभा बैठकमा राजपाको तर्फबाट जितेन्द्र सोनलले शुभकामना मन्तव्य राख्ने छन् ।

यता नेपाली कांग्रेसले पनि संसदीय दलको नेताको टुंगो लगाउन सकेन । शनिबारको बैठकले मात्र प्रदेशसभाको प्रथम बैठकको तयारीमा सिमित भएको कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए ।

कांग्रेसको तर्फबाट कार्यव्यवस्था परामर्श समितिमा रामरोज यादव र शोभा लामाले प्रतिनिधित्व गरेका छन् भने प्रथम बैठकमा स्वागत मन्तव्य रामसरोज यादवले राख्नेछन् ।
माओवादी केन्द्रले समेत संसदीय दलको नेता छनोट गर्न सकेन । माओवादी केन्द्रको बैठकबाट कार्यव्यवस्था तथा परामर्श समितिमा रामकुमार यादवले प्रतिनिधित्व गरेका छन् भने प्रथम बैठकमा भरत साहले मन्तव्य राख्नेछन् ।

एमालेले अहिले कुनै निर्णय गरेको छैन । आइतवार विहान मात्रै संसदीय दलको नेताको नाम टुंगो लगाइने प्रदेशसभा सदस्य शत्रुधन महतोले बताए ।

प्रतिकृया दिनुहोस