अब दलित आन्दोलनले प्रत्यक्षमा आरक्षित कोटामा छलफल चलाउनुपर्छ

Chabilal lal bk

नेपाली दलित आन्दोलनससँग परिचित नाम हो छवीलाल विश्वकर्मा । उनी अघिल्लो संविधानसभको निर्वाचनमा रुपन्देहीबाटै पराजित भएका थिए । तर, २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उनी रुपन्देही क्षेत्र नं. १ बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेको स्थायी समिति सदस्यसमेत रहेका विश्वकर्मा लामो समयदेखि नै दलित आन्दोलनमा संलग्न छन् । प्रस्तुत छ पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मासँग पछिल्लो राजनीतिक अवस्था, दलित आन्दोलन र अन्य समसामयीक विषयमा निशान न्युज डटकमका लागि लक्ष्मण दर्नालले गरेको कुराकानी ।

प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभामा ३ जना र प्रदेशभामा ४ जना दलित समुदायका नेताहरु निर्वाचित हुनुभएको छ । यो संख्या त थोरै भएन र ?
प्रतिनिधिसभामा ३ र प्रदशसभामा ४ जना निर्वाचित हुुनु पर्याप्त होईन । यसबारेमा अहिलेको दलित आन्दोलनको धारणा के हो आउनुपर्छ । प्रत्यक्षतर्फ दलित समुदायका नेताहरु पनि जितेर आउने अभिमत प्राप्त गर्ने परिस्थितिको निर्माण दलहरुले गर्नुपर्छ । या त प्रत्यक्षमा आरक्षित कोटामा छलफल चलाउनुपर्छ । बनेका नीति विधिहरुको कार्यान्वयन र त्यसको प्रभावकारिताका बारेमा छलफल गरेर परिक्षण गर्दै सुधार गरेर जानुपर्छ । थप गर्दै अगाडि बढ्ने हो । अहिले एकप्रकारले विधि बनेको छ । त्यसलाई दलित आन्दोलनले कसरी लिएको छ भन्ने कुरा मुख्य हो । अहिलेको निर्वाचनमा देखिएको परिणाम राम्रो लक्षण हो । यद्यपि अहिलेको परिणाम जस्तो आए पनि राम्रो सुरुवात भएको छ । किनभने टिकट दिँदा दलितले जित्नै सक्दैनन् भन्ने थियो । अहिलेको परिणामले त्यसलाई बदलिदिएको छ ।

प्रदेश र केन्द्रमा दलितको प्रतिनिधित्वको अवस्था कस्तो देख्नुहुन्छ ? अबका दिनमा दलितको प्रभावकारी उपस्थिति रहला त ?
विधि र व्यवस्थाअनुसार समानुपातिकमा आउने कुरा छँदैछ । प्रत्यक्षमा ३ जना निर्वाचिन भएका छौं । त्यो संख्या एकदम न्यून हो । प्रत्यक्षर्फ महिलाको कोटा नपुगेपछि समानुपातिकबाट चुक्ता गरिनुपर्ने प्रावधान रहेकाले दलित पुरुषको प्रतिनिधित्व पनि आशा गरिएअनुसार हुन सकेन । स्थानीय तहमा जुन प्रकारले दलित महिलाको सहभागिता रह्यो, त्यो राम्रो कुरा हो । तर, प्रभावकारी रुपमा मुद्धा उठाउने सवालमा दलित महिला मात्र आउँदा त्यसले केही असर पार्न सक्छ । तर त्यसको अभाव हुनु दिनुहुँदैन । विधि कै कारण दलित पुरुषको प्रतिनिधित्व कम भए पनि अहिलेको अवस्थालाई स्वीकार गर्दै दलित पुरुषको प्रतिनिधित्व सुनिश्चिताको आवाज उठाउनुपर्छ ।

संविधान आइसकेपछि र संघीय व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भइसकेको अवस्थामा नेपालको दलित आन्दोलनलाई कसरी हेरिरहनु भएको छ त ?
हामी नयाँ अभ्यासमा छौं । विधिले निकास दिएको छ, व्यवस्थाहरु भएका छन् । अब तिनको कार्यान्वयन र अभ्यास गर्नुपर्छ, उपभोग गर्नुपर्छ । यतिबेला हामी चूनौति र अवसरको दोसाँधमा छौं । अवसरहरु प्राप्त भएका छन् । त्यसलाई व्यहारमा उतार्नुपर्छ । राम्रो अवसर प्राप्त भएको छ । त्यसलाई चिनेर बुझेर दलित आन्दोलनले काम गर्नुपर्छ । नयाँ अभ्यासमा जाँदा चिनेर, बुझेर काम गर्ने हो । नयाँ संरचनामा काम गर्दा दलित समस्या ओझेलमा पनि पर्नसक्छ । त्यसतर्फ पनि सचेत हुनुपर्छ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिभिसभाको निर्वाचनको मतपरिणामलाई कसरी लिनुभएको छ ?
अहिले जनताले संयुक्त वाम गठवन्धनलाई रोजेको छन् । वाम गठवन्धनले देशलाई स्थिरता दिन्छ भन्ने कुरा जनताले बुझे र बहुमत दिए । वाम गठवन्धनका विरुद्ध जतिसुकै मा कु–प्रचार गरिए पनि जनताले पत्याएनन् । जनताले साथ दिएका छन् । देशमा स्थायी सरकार निर्माण गर्ने कुरा र सामाजिक सदभाव राख्ने कुरा आवश्यक छ । २००७ साल यता कुनै सरकारले पूरा काम गर्न पाएका छैनन् । नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याउँदा पनि काम गर्न सकेन । अहिले वाम गठबन्धनलाई जनताले राम्रो मत दिएका छन् । यो स्थिरताको पक्षमा जनताको अभिमत हो । अभिमतको सम्मान गरेर वर्तमान सरकारले लोकतान्त्रिक चरित्र देखाउनुपर्छ ।

प्रसंग बदलौं । पहिलो पटक जनताबाट प्रत्यक्ष निर्वाचित हुनुभएको छ । कस्तो अनुभूति गर्नुभएको छ ?
जिम्मेवारी बढेको छ । जिम्मेवारी बोध भएको छ । जनताप्रति उत्तरदायी बनेर जनअपेक्षाअनुसार अघि बढ्ने अठोट छ मेरो । अर्कोतर्फ यतिबेला राजनीतिक परिस्थिति धमिलो बनाउने प्रयत्न भइरहेको छ । त्यसलाई चिर्नुपर्छ । वाम गठवन्धनलाई प्रकट गरेको अभिमतलाई सम्मानपूर्वक आकार दिएर अघि बढ्नुपर्छ भन्ने लागेको छ । जनताको बीचमा हामीले अस्थिरता चिरेर स्थिर सरकार निर्माण गरेर जनताका अपेक्षा पूरा गर्ने अहिलेकको मेरो प्राथमिकता हो ।

संविधानसभाको दोस्रो निर्वाचनमा सोही क्षेत्रबाट पराजय हुनुभएको थियो अहिले बिजयी हुनुभएको छ । बिजयी हुनुको कारणहरु के हुन् जस्तो लाग्छ तपाइलाई ?
संविधानसभाको दोस्रो निर्वाचनमा म त्यही क्षेत्रबाट उम्मेदवार थिए । त्यतिवेला १६ सय मेरो मत बदर भए र २ सय ४ मतको अन्तरभयो । जनमत भन्दापनि प्राविधिक कारणले पछाडि परियो । अहिले निर्वाचन क्षेत्र पनि ठूलो भएको छ । वाम गठवन्धन गरिएको कुरा जगजायर नै छ । त्यहाँ मिश्रित बसोवास छ । म निरन्तर राजनीतिमा छु, जनतासँगै छु जनाताको विश्वास नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले अब मेरो ध्यान र काम भनेको जनताको जीवतस्तर उठाउने, विकासको चाहनालाई पूरा गर्ने, देश जोगाउने, राष्ट्रिय स्वाभिमान झुक्न नदिने हो ।

वर्तमान अवस्थामा जनताको अपेक्षा के कस्तो पाउनु भएको छ ?
राष्ट्रलाई जोगाउने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने जनतालाई रोग, भोक र अशिक्षाबाट उन्मुक्ति दिने, बरोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्ने, सुकुम्बासी र अव्यवस्थित बसोवासको समाधान गर्ने कुराहरु नै हो । जनताले नीजिभन्दा पनि समाज, देश र राष्ट्रिय समस्या बताएको मैले पाएको छु । त्यसैले विकासको चाहना पूरा गर्न स्थायी सरकारबाट सम्भव छ । यो कुरा जनताले बुझेका छन् । विगतमा नेकपा एमालेले छोटो समय सरकारको नेतृत्व गर्दा राम्रो काम गरेको हो । अब अझ त्यसलाई पूरा गर्नुपर्छ । जनताको जीवनस्तर माथि उठाउनुपर्छ । आर्थिक विकाससँगै सामाजिक विकासलाई साथसाथै लिएर जानुपर्छ । यसको मतलव आर्थिक विकाससँगै सामाजिक विकास पनि गरेर समतामुलक विभेद रहित समाजको निर्माण गर्नु आजको आवश्यकता हो । जातीय विभेद तथा छुवाछूत अन्त्य गरिनुपर्छ ।

 

प्रतिकृया दिनुहोस