नेपाल–भारत सम्बन्ध अब नयाँ उचाईमा पुग्छ : भट्टराई

Mkk 0010

काठमाडौं । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल समूहका सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष कार्यक्रममा बोल्दै नेता भट्टराईले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि अहिले सघन छलफल भैरहेको स्पष्ट पारेका हुन् ।

उनले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग पारस्परिक सम्बन्ध राखिने जनाए ।

उनले भने,‘हाम्रो दुवै छिमेकी मित्रराष्ट्रहरुसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन्, र राख्न आवश्यक पनि छैन्।’ उनले आजको युग भनेको द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भैरहेको जानकारी दिँदै भने,‘संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्धान्तमा छिमेकीहरुसँग पारस्परिक लाभका आधारमा, हाम्रो राष्ट्रको हितमा, समानताका आधारमा र अहस्तक्षेपका आधारमा सम्बन्ध विकसित गरेर अघि बढ्ने हो।’

नेपाल–भारत सम्बन्ध सबै हिसाबले गहिरो र प्रगाढ भएको उल्लेख गर्दै नेता भट्टराईले भने,‘नेपाल–भारत सम्बन्ध सबै हिसाबले सुमधुर छ, र यो निरन्तरता पनि हो, आगामी दिनमा अझै फराकिलो र गहिरो बनाएर जानुपर्छ, अहिले त्यो दिशामा हामी अघि बढिरहेका छौं।’ उनले नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस