पूर्वमन्त्री पत्नीको यस्ता छन् अधूरा सपना, जुन अधूरै रह्यो...

Gita khewa

काठमाडौं । जीवनका अनेक परिभाषा हुन्छन् । सफल बन्नेहरुले सजिलै भन्छन् जिन्दगी सफलताको सिँढी हो । असफलता भोग्नेहरुले भन्छन्, कर्मको फल हो ।

एउटै व्यक्तिका लागि जीवन फरक फरक हुन्छ । भोगाई अनेक हुन्छन् । सोचाई पनि फरक फरक । जीवन संघर्ष कै एउटा रुप हो । सफल हुनेहरुले पनि अनेक संघर्ष गरेका हुन्छन् र असफल हुनेहरुको जीवन पनि उत्तिकै संघर्षपूर्ण हुन्छ ।

सफल हुनेहरुले सधैं उचाई चुम्ने प्रयास गरिरहेको हुन्छ । असफल बनेकाहरुले सफलताको बाटो खोजिरहेको हुन्छ । एउटा पात्र जसले आफ्नो जीवनको भोगाईबाट सफलताको बाटो खोजी रहेको छ । त्यो पात्र हो गीता खेवा लिम्बु ।

यो त्यति परिचित नाम होइन । तर, जीवनका अनेक मोड पार गर्दै सफलता खोज्दै गरेको नाम हो । जिन्दगीका अनगिन्ती मोडहरु थिचोल्दै सफल जिन्दगीको पर्खाईको एउटा नाम हो । अझ भन्ने हो अनगिन्ती सपना पूरा गर्न हिडेको एउटा संघर्षशील पात्र हो ।

प्रेरणाको स्रोत नै पति
सुनसरी जिल्लाको प्रकाशपुरमा जन्मिएकी गीतालाई चिन्ने विभिन्न आधारहरु छन् । सजिलोसँग चिन्ने हो भने उनी पूर्व अर्थराज्यमन्त्री हरिराज खेवाकी श्रीमति हुन् । उनै खेवाको राजनीतिक काखमा हुर्किएकी गीताका लागि आफ्ना पतिको सपना पूरा गर्ने चुनौती थपिएको छ ।

उनी नपत्याउने तरिकाले राजनीतिमा प्रवेश गरेकी छन् । विभिन्न आरोह अवरोह पार गर्दै जिविकोपार्जन गर्दै आएकी गीताका पछिल्ला दिन संघर्षपूर्ण बनेको छ ।

उनकै भाषामा भन्ने हो भने उनले जीवनमा अनेक कष्ट भोगेकी छन् । उमेरले भर्खर ३३ वर्ष टेकेकी गीतालाई जीवनका अनगिन्ती भोगाईका लागि यही उमेर काफी छ ।

उनको जीवनको सबैभन्दा दुःखद भोगाई नै पति वियोग हो । २०७२ साउन १३ गते उनका लागि जीवनको कालो दिन बनेर आयो । जसले उनका पति हरिराज खेवालाई टिपेर लग्यो ।

आज उनका पति साथमा छैनन् । तर उनकै प्रेरणाले उनी राजनीतिमा होमिएकी छन् । पतिले देखाएको राजनीतिक गोरेटोलाई पच्छ्याउने र सफल बनेर छाड्ने अठौट पनि गरेकी छन् ।

यसरी सुरु भएको थियो राजनीतिक यात्रा
गीता र हरीको २०६१ मा विवाह भयो, जुनवेला हरी भुमिगतजस्तै थिए । भर्खर एमाले त्यागेर माओवादीमा लागेका कारण हरिको जीवन संकटपूर्ण थियो । जब २०६२/०६३ को आन्दोलन सफल भयो, त्यतिबेला हरी जिल्ला फर्किए । उनी राजनीतिमा व्यस्त भए, गीता भने काठमाडौंमा सानातिना व्यपारमा व्यस्त रहिन् ।

पहिलो संविधानसभाको निर्वाचनमा हरीले तत्कालीन माओवादीको तर्फबाट धनकुटा क्षेत्र नं. २ बाट टिकट पाए । त्यसबेला राजनीतिम बाघ भनेर चिनिएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई हराएर हरीले चर्चा कमाए । र उनी अर्थराज्यमन्त्री पनि भए । हरीलाई जिताउन गीता पनि खुबै लागिन् ।

उनै राजनीतिका बाघलाई हराउन सफल भएका हरीकी श्रीमति गीता स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट धनकुटाको छथर जोरपाटी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनिन् । तर दुर्भाग्य उनी पराजित भइन् ।

त्यसबेला पराजित भए पनि उनले हिम्मत हारेकी छैनन् । निरन्तर राजनीतिमा क्रियाशील बनेकी छन् । यतिबेला राजधानीमा बसेर पनि धनकुटालाई प्रदेश राजधानी बनाउने अभियानमा दैनिक नारावाजी गर्दै आएकी छन् । ‘मैले आफ्ना पतिको सपना साकार पार्नुछ’ उनले भनिन्, ‘म जसरी पनि राजनीतिमै टिकेर देश र जनताका लागि केही गरेर देखाउँछु ।’

यस्ता छन् अधूरो सपना
उनी हरी खेवासँगै रहँदा पनि विभिन्न काममा सक्रिय हुन्थिन् । हरी राजनीतिमा सक्रिय बन्दा पनि गीताले विभिन्न काम गर्दै जिविकोपार्जनमा सहयोग गर्थिन् । उनले जीउन अनेक कष्ट गरेकी छन् ।

अहिले उनी अहिले कानुन पढ्ने विचार गर्दैछिन् । श्रीमतिले धेरै पढोस् भन्ने चाहना थियो हरीको । उनले अब श्रीमतिले कानुन पढेको उनका पतिले सुन्न पाउने छैनन् । तर, उनी पास भएर पतिको मनोकामना पूरा हुने आसमा छिन् । आफ्ना पतिको अधूरा छन् केही सपना । त्यसलाई उनले पूरा गर्नुछ । ‘त्यसका लागि म लागिपरेको छु’ उनले भनिन्, ‘म हसहमेसा उहाँले देखाएको बाटो हिड्ने छु ।’

उनको साथमा पति नभए पनि ८ र ११ वर्षका २ छोरी छन् । जसलाई उनले संघर्ष गरेर शिक्षा दिइरहेकी छन् । उनी तीनै २ छोरीको स्याहारसुुसार गर्दै उनीहरुको उज्जल भविश्यको कामना गर्दैछिन् । उनको काँधमा अहिले यही जिम्मेवारी छ ।

त्यसका अलावा राजनीतिमा पनि होमिएका कारण आफ्नो राजनीतिक भविश्य सुरक्षित गर्न रातदिन मेहेनत गरिरहेकी छन् । राजनीति हो, कतिवेला पासा पल्टिन्छ भन्ने थाहा हुँदैन । तर, राजनीतिमा जनताको मन जित्न सक्नुपर्छ । उनलाई यही शुभकामना पनि ।

प्रतिकृया दिनुहोस