व्यवस्था विरोधी काम नगर्न गृहद्धारा राप्रपालाई चेतावनी, निषेधित क्षेत्र तोड्न खोजे कारवाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणापछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैहृय नहुने स्पष्ट पारेका हुन् ।
यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् ।
आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ । राप्रपाले वैशाख ७ गते (आइतबार) सरकारद्वारा निषेधित क्षेत्र घोषित ठाउँमा प्रदर्शन गर्ने घोषणापछि शनिबार गृह प्रवक्ता तिवारीले संविधान र कानुन उल्लंघन हुने गरी गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
राप्रपाले भोली बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाले बताएको छ । त्यसतर्फ ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयले कानुन अनुसार कारबाही हुने बताएको छ ।
‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले भनेको छ ।
प्रतिकृया दिनुहोस