३१ दिनसम्म एक्लै गोपालप्रसाद पराजुलीको विरोधमा टेवल ठोकेका चित्रबहादुर केसी भन्छन्, अहिले त थाहा भयो होला नि ?

Chitra kc

पछिल्लो संविधानसभाको संसदीय समितिको सुनुवाई समितिमा मलगायत थियौं । यो समितिमा एमाले र माओवादीका नाम चलेका नेताहरू थिए । जो पटकपटक मन्त्रीसमेत भइसकेको छन् । जुन बेला ८ जना न्यायधीशहरू भर्ना गर्ने कुरा आयो । त्यतिबेला दामोदर शर्मा प्रधान न्यायधीश थिए । ८ जनाको लिष्टमा अहिलेका प्रधान न्यायधीश गोपालप्रसाद पराजुलीको नाम पनि थियो । ती ८ जनामध्ये २ जनाको नाममा कुनै बहस नै भएन । निर्विवाद रूपमा पास भयो । उनीहरूको कसैले टिप्पणी नै भएन ।

बाँकी ६ जनाको बारे लामो बहस भयो । सुरूका दिनमा माओवादी, एमाले र राष्ट्रिय जनमोर्चा एकै ठाउँमा थियौं । पराजुलीको विगतका इतिहास, शैक्षिक प्रमाण पत्र, दोहोरो नागरिकता आदी विषयमा लामो छलफल भयो । पराजुलीलाई जसरी पनि राख्नैपर्छ भन्ने पक्षमा थियो कांग्रेस । उनको बारेमा ‘चु’सम्म पनि बोल्दैन थिए ।

छलफल हुँदै गर्दा अन्तिमतिर पराजुलीलाई सुनुवाई समितिले नाम पारित गर्ने नै भयो । सुरूका दिनमा एमाले र माओवादीले जुन रूपमा अडान लिएका थिए, त्यो सही थियो । तर के भयो भने बालुवाटारमा पराजुलीलाई प्रधान न्यायधीश बनाउने सम्झौता भइसकेछ । बालुवाटारमा सम्झौता भएपछि त एमाले माओवादीका सांसदहरू त पराजुलीको विरोधमा एक शब्द पनि बोल्न छाडे ।

त्यसपछि मैले एकदिन माओवादीका नाम चलेका केही सांसदहरूलाई छुट्टै कोठामा लगेर कुरा गरे । मैले न्यायधीश बनाउँदा कम्तीमा पनि स्वाच्छ छवीको त बनाऔं, किन यसरी भ्रष्ट व्यक्तिलाई बनाउने ? भनेर कुरा राखे । उनीहरूले त ‘दाई बालुवाटारले पराजुलीलाई प्रधान न्यायधीश बनाउने नै भयो, भागबण्डा मिलिसक्यो । अब हामीले बोलेर केही हुन्न । हामी त नियम पूरा गर्न मात्र आएको हो । तपाईको अडान ठीक छ । तर, भित्रभित्रै सहमति भइसकेकाले हामी त केही गर्न नसक्ने भयौं दाई’ पो भन्न थाले ।

फेरि अर्काे दिन मैले एमालेका सांसदहरूलाई छुट्टै कोठामा लगेर ‘हैन, किन यति साह्रो पराजुलीको पक्षमा लाग्नु भएको हो ? उनी जस्तो भ्रष्टलाई प्रधान न्यायधीश बनाउँदा भोलीको न्यायलय कस्तो हुन्छ, सोच्नु पर्दैन ?’ भनेको त उहाँ त बुरूच्च उफ्रेर अब हाम्रो केही चल्दैन दाई’ पो भन्न थाले ।

आखिर ३१ औं दिनको दिनको दिन संसदीय सुनुवाई समितिले गोपालप्रसाद पराजुलीको नाम अनुमोदन ग¥यो ।

खासमा सुनुवाई गर्ने त देखाउने मात्रै रहेछ । त्यहाँ एक जना मात्रै माननीयले जुन व्यक्ति ठीक छ, भन्यो र ३० जनाले जुन मान्छे बेठिक छ भने पनि त्यो अनुमोदन हुने रहेछ ।

यो संसदीय व्यवस्थाको खेल कस्तो रहेछ भने ऐन कानुन बनाउँदा नै त्यस प्रकारका प्वाल बनाइदो रहेछ । जुन प्वालबाट आफुलाई कुनै कानुन नलागोस् भन्ने हुँदो रहेछ । मैले त्यो संसदीय सुनुवाई समितिमा बस्दा धेरै कुरा थाहा पाए ।

मैले सहकारी मन्त्री बन्दा धेरै कुरा बुझे । बैंकका माफियाहरू, सहकारीका माफियाहरू, वित्तिय संघ संस्थाका माफियाहरू माननीय बनेर संसदमा जाने र आफ्नो व्यवसायलाई प्रोत्साहन पुग्नेगरी कानुन बनाउँदा रहेछन् भन्ने थाहा पाए ।

अहिले प्रधान न्यायधीश पराजुलीको बारेमा जसले जे हल्ला गरे पनि उनलाई नियुक्ती गर्नुहुँदैन भनेर म ३१ दिनसम्म एक्लै लडेँ । सुरूका केही दिन एमाले र माओवादीका सांसदहरूले साथ दिए पनि भागबण्डाका कारण पछिल्ला दिनमा उनीहरू नुन खाएको कुखुराझैं भए । मैले त्यसबेला संसदीय सुनवाई समितिमा बोलेको कुरा सबै सञ्चार माध्यमहरूले लेखेका पनि थिए । मैले बोलेको कुरा संसदीय समितिमा रेकर्ड पनि होला ।

आज तिनै भ्रष्टलाई प्रधान न्यायधीश बनाउँदा कत्रो नौटंकी भयो त ? न्यायपालिकाको ठेक्का लिएर बसेकाहरूको पोल धमाधम खुल्न थालेको छ । यसले सीमित र मुठीभर व्यक्तिको हातमा कानुनी राज भएपछि मुलुकमा जनताले कहाँ न्याय पाउँलान र ?

सर्वसाधारण जनताका छोराछोरीले निःशुल्क र सहुलियतमा पढ्न पाउनुपर्छ भनेर आवाज उठाउने एक जना व्यक्ति (डा. गोविन्द केसी) लाई ज्यानमारालाई जस्तो रातारात पक्राउ गरेर हिरासतमा राखियो । यसले हाम्रो स्वतन्त्र न्यायपालिकाको ध्वँज्जी उढाइदिएको छ ।

अनि प्रधानमन्त्री कै जिम्मामा रहेको गृह मन्त्रालयका प्रहरीहरूले रातारात पक्राउ गरेर ल्याउँदा पनि थाहा पाइनँ भन्ने प्रधानमन्त्रीको धारणा आउँदा मुलुकमा कति अराजकता रहेछ भन्ने त्यहीबाट स्पष्ट हुन्छ ।

अहिले कहिलेकाँही त्यसबेला सँगै गोपालप्रसाद पराजुलीको पक्षमा वकालत गर्ने केही सांसदहरूसँग भेट हुन्छ । तर, उनीहरू त्यो बेलाको कुरा बोल्न चाहँदैनन् । उनीहरूको मनमा केही चिसो पनि पसेको होला । तर, उनीहरू बानी परिसकेका कारण त्यस्तो फिलिङ नै गर्दैनन् । तर, जतिसुकै चिल्ला कारमा चढेर वा टाइसुट लगाएर हिडेको देखे पनि मलाई चाँही टिठ लाग्छ ।

मैले उनीहरूका बारे चासो नराखे पनि उनीहरूलाई त्यतिबेला पराजुलीको पक्षमा बोलेकोमा पछूतो हुन सक्छ । यतिसम्मकी मैले पराजुली जस्ता भ्रष्ट न्यायधीशलाई प्रधान न्यायधीश बनाउनु हुँदैन भन्दा मसँग राम्रो सम्बन्ध भएका कांग्रेस एमालेका सांसदहरू पनि मसँग टाढा भएका छन् ।

प्रतिकृया दिनुहोस