आषिस र मेरो जीवनको सम्बन्ध यसरी धागो चुँडिएझैं भयो

Manisa

जन्मेको दुई महीनामै आमाले मलाई छाडेर दोस्रो बिहे गर्नुभएको रे ! त्यतिबेला बुबा विदेशमा हुनुहुन्थ्यो रे ! मलाई हजुरआमाले हुर्काउनुभएछ । म तीन वर्षकी हुँदा बुबाले विदेशबाट आएर मलाई पोखराको न्यू लाइफ बालगृहमा राखिदिनुभयो । ६ महीना बसेर फेरि विदेशै जानुभयो । त्यसपछि बुबासँग फोनमा सम्पर्क भइरहन्थ्यो । एक–दुई पटक उहाँले नेपाल आएर मलाई भेट्नु पनि भयो ।

आठ वर्षकी छँदा एक दिन मैले उहाँ विदेशमै बित्नुभएको खबर पाएँ । त्यसपछि म सधैंका लागि एक्ली भएँ । ११ वर्षको उमेरसम्म त्यही बालगृहमा बसें । नजिकैको इन्द्र राज्यलक्ष्मी माविबाट ७ कक्षा पास गरें । बालगृहमा सँगै बस्ने र मसँग एकदमै मिल्ने साथी यशोदा गिरीलाई एक अमेरिकी दम्पतीले धर्मपुत्री बनाएर अमेरिका लगेपछि म झन् एक्लिएँ ।

त्यसबेला बालगृहमा ३५ जना थिए । म भन्दा ठूला दिदीहरू पनि थिए । बालगृह सञ्चालकले रातिराति बाहिरका केटा बोलाएर दिदीहरूको कोठामा पठाउँथे । एकदिन पुलिस आएर त्यहाँ छापा मा¥यो । त्यो दिनदेखि बालगृह बन्द भयो । त्यसका सञ्चालक पोखराकै टेकबहादुर थापा त्यसपछि कता गए मलाई केही थाहा भएन ।

शारीरिक रूपमा स्वस्थ बच्चालाई त्यहाँबाट अन्तै लगे । छाडिएका चार जना थियौं । पुस महीनाको जाडो मौसम थियो । पोखराकै रत्न चोकमा रहेको टुरिष्ट बसपार्कको सडक पेटीमा तीन दिनसम्म बस्यौं । सडकमा फालेका खानेकुरा खोजेर खायौं । हामी चारमध्ये धरानकी ११ वर्षीया मुस्कान ठकुरी र बाग्लुङकी १० वर्षीया रितु बरालको त्यहीं मृत्यु भयो । उनीहरूको लास उठाउन पनि कोही आएनन् । त्यसपछि म र साथी समीक्षा श्रेष्ठ त्यहाँबाट भाग्यौं ।

हाम्रो भेट अमृता गिरी नामकी एकजना दिदीसँग भयो । पोखराकै लामाचौरमा उनको होटल रहेछ । उनले हामीलाई त्यहीं लगिन् । पुगेकै दिन मेरी साथी समीक्षालाई एउटा केटा मान्छेले लिएर गयो । त्यसपछि ऊसँग मेरो भेट भएन । म चाहिं दुई वर्षसम्म त्यहीं काम गरेर बसें । दिनभरि होटलका भाँडा माझ्ेबापत म बिहान–बेलुका खान पाउँथें ।

दुई वर्षपछिको एक दिन अमृताले आफ्नोे भाइ भन्दै मलाई एउटा केटाको जिम्मा लगाउँदै भनिन्, ‘तिमीलाई म कहिलेसम्म पाल्न सक्छु र ! अब ऊसँगै जाऊ । उसले तिमीलाई राम्रो काम खोजिदिन्छ ।’ त्यतिबेला म १३ वर्षकी थिएँ । नयाँ काम पाउने आशाले खुशी भएँ ।

म त्यो केटासँगै होटलबाट निस्किएँ । उसले मलाई दिनभरि पोखराको महेन्द्रपुल बजार घुमायो । राति झयालै नभएको कोठामा लगेर श्रीमतीको जस्तो व्यवहार गर्न थाल्यो । चिच्याएर रोए पनि सुन्ने कोही थिएन । म सहन बाध्य भएँ ।

त्यसपछि महीनौंसम्म ऊसँगै बसें । उसको नाम सुवास थापा मगर रहेछ । घर धादिङ हो भन्थ्यो, बस्न चाहिं पोखरामै बस्थ्यो । ऊ केही काम गर्दैनथ्यो । दिनभरि बजार डुलेर साँझ् कोठामा फर्किन्थ्यो । म चाहिं ज्यालामजदूरी गर्थें । सँगै बस्दा बारम्बार झगडा पनि हुन्थ्यो । उसले एक दिन मलाई होटलवालीले एक लाख रुपैयाँमा बेचेको र म उसको श्रीमती भएकाले जे भन्यो त्यो सबै मान्नुपर्ने बतायो ।

केही महीनापछि उसले हप्तैपिच्छे नयाँ नयाँ केटीहरू कोठामा ल्याउन थाल्यो । तिनीहरूसँग मेरै अगाडि शारीरिक सम्बन्धहरू राख्थ्यो । ती केटीहरू कहाँबाट आउँथे र फर्किएर कहाँ जान्थे मलाई केही थाहा हँुदैनथ्यो । उसले मलाई धेरै पिट्थ्यो । म सधैं सहेर बस्थें ।

एकदिन मैले सुवासलाई आफू गर्भवती भएको बताएँ । उसले तीन महीनापछि गर्भपतन गराइदियो । त्यसको केही दिनमै ऊ चोरी मुद्दामा पक्राउ प¥यो र थुनामा गयो । अदालतले उसलाई थुनामुक्त गर्न २ लाख धरौटी मागेको रहेछ । मसँग ज्यालामजदूरीबाट कमाएको ३० हजार थियो । अरू १ लाख ७० हजार ६ महीनामा तिर्ने कागज गरेर खोलाको ठेकेदार ज्ञानबहादुर गुरुङसँग ऋण लिएर धरौटी बुझई उसलाई जेलबाट छुटाएँ ।

ऊ छुटेको ६ महीनापछि म फेरि गर्भवती भएँ । त्यो कुरा सुनाउँदा उसबाट मैले नानाभाँतीका आरोप, गालीबेइज्जती र कुटपिट सहनुप¥यो । पेटको गर्भ दुई महीनाको हुँदा फेरि अर्को चोरी मुद्दा लागेर सुवास दोस्रो पटक जेल गयो । त्यतिबेला अदालतले धरौटीमा छुट्न पाउने सुविधा दिएन । दिएको भए पनि मसँग पैसा थिएन ।

म उसलाई भेट्न जेलमा जाँदा रिसाउँदै बारम्बार मानसिक यातनाहरू दिइरहन्थ्यो । मेरो पेटको बच्चा अरूकै भएको आरोप लगाउँथ्यो । मसँग पैसा मागेर झगडा गथ्र्यो । पैसा नदिएपछि उसले मेरो वास्ता गर्न छाड्यो ।

म आफैं ज्यालामजदूरी गरेर पालिन थालें । केही महीनापछि छोरी जन्माएँ । १४ महीनासम्म दुःखकष्टसाथ एक्लै डेरामा बसें । छोरी दुई वर्ष पुगेपछि जेलबाट छुटेको सुवासले अर्को विवाह ग¥यो । उसको साथ नपाएपछि मजदूरी गरेरै छोरी हुर्काएँ ।

त्यसबेला पोखरा औद्योगिक क्षेत्रमा पर्ने हिमालयन लाइफ नामको प्लाष्टिक कम्पनीमा काम पाएँ । एक दिन काममा जाँदा बाटोमा एउटा सीम कार्ड भेटें । त्यही कार्ड आफ्नोे मोबाइलमा हालेर हेर्दा कार्डमा सेभ गरेको एउटा नम्बर फेला प¥यो । त्यो नम्बरमा त्यही कार्डबाट फोन गरी सीमकार्ड आफूले भेटेको जानकारी दिएँ । त्यति गरेकै कारण जीवनमा अर्को पीडाको पहाड ममाथि थोपरिन पुग्यो ।

मैले फोन गरेको नम्बर कञ्चनपुर, गुलरियाको महुवाफाँटा निवासी आशिष चौधरीको रहेछ । ऊ सीमकार्ड लिने बहानामा मलाई भेट्न पोखरा आयो । मसँग प्रेम प्रस्ताव राख्यो । मैले अस्वीकार गरें तर उसले ढिपी नछाडेपछि बुटवल गएर मैले ऊसँगै विवाह गरें । त्यसपछि पोखरामा सँगै बस्न थालें । शुरूका ५÷६ महीना राम्रै रहेको सम्बन्ध त्यसपछि धागो चँुडिए झैं भयो ।

आशिष मलाई छलेर भाग्यो । २०७३ फागुनमा काखकी छोरी च्यापेर उसलाई खोज्दै पोखराबाट कञ्चनपुर पुगें । परिवारमै पुगेर उसलाई भेटें । त्यसबेला मेरो पेटमा उसको चार महीनाको गर्भ थियो । केटा र उसको परिवारले नराम्रो व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरें । प्रहरीले मिलापत्र गराइदियो । म त्यही घरमा बस्न थालें ।

एक महीना बस्दा मैले त्यहाँ विभिन्न शारीरिक र मानसिक यातना सहनुप¥यो । मलाई बोक्सीको आरोप लगाए । धामी लगाएर मन्तरेको चामल कपालमा छरिदिन्थे । मैले पकाएको खाना कसैले नखाने भए । चरित्रमाथि प्रश्न उठाउँदै नराम्रो गाली गर्थे । उनीहरू बसेको ठाउँमा बस्न जाँदा उठेर जान्थे । तैपनि मेरो जाने ठाउँ कहीं थिएन ।

एक दिन ज्वरो आएर थला परें । सासू र श्रीमानले उपचारको लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिदिए । अस्पतालले उनीहरूकै आग्रहमा मेरो गर्भपतन गराइदियो । रगत धेरै बगेपछि मलाई त्यहाँबाट सारेर आशा अस्पताल धनगढीमा तीन दिन राखियो ।

अस्पतालबाट फर्कंदा आशिष घर छोडेर बेपत्ता भइसकेको थियो । उसको विषयमा सोधखोज गर्दा सासूससुराले मलाई घरबाट निकालिदिए । मैले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाको उजुरी दिएकी छु । न्याय नपाउँदासम्मका लागि तीन वर्षकी छोरी लिएर महिला तथा बालबालिका सुरक्षित गृह अत्तरियामा बसिरहेकी छु । सीटीईभीटीबाट ब्यूटीपार्लरको तालिम लिएर आत्मनिर्भर बन्ने योजनामा छु तर मेरो नागरिकता छैन । भविष्यमा अझ् कति पीडा भोग्नुपर्ने हो, त्यो सम्झँदा निरास छु ।

(उन्नति चौधरीले खोज पत्रकारिता केन्द्रका लागि बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ ! शिर्षकको स्टोरीका लागि एक १८ वर्षीय मनिषा श्रेष्ठ (परिवर्तित नाम) सँग गरेको कुराकानी ।)

 

 

प्रतिकृया दिनुहोस