बन्दले धनकुटाको जनजीवन अत्यन्तै कष्टकर बन्दै

आन्दोलनकारी तत्काल बन्द खुलाउने पक्षमा देखिएनन्

Dkt 24

धनकुटा । प्रदेश राजधानी माग गर्दै सुरु भएको आन्दोलन तीव्र बन्दै जादा धनकुटाको जनजीजन अत्यन्तै कष्टकर बन्दै गएको छ ।

गत बुधबारदेखि जारी बन्दले धनकुटाका जनताले सास्ती खेप्न थालेका छन् । तर, आफ्नो सास्तीको पर्वाह नगरी बन्दमा सहभागी भएका छन् । होटल, पसल, सरकारी कार्यालय लगायतका कार्यालय ६ दिनदेखि बन्द छ । सवारी साधन ठप्प छ ।

आन्दोलन तीव बनेपछि आन्दोलनकर्ताले केही दिनदेखि बन्द खुकुलो बनाएका थिए । शनिबारदेखि साँझ ५ बजेदेखि विहान ८ बजेसम्म सवारी साधन चल्न दिने बताएका थिए । तर, सोमबार विहान ६ बजेदेखि कुनै पनि सवारी साधन चलन दिइएको थिएन ।

बन्दकर्ताले सवारी साधन चल्न नदिएपछि सयौं यात्रु विचल्नीमा परेकाा थिए । धनकुटामा प्रदेश नं. १ को राजधानी माग गर्दै झण्डै १ महिनादेखि आन्दोलन हुँदै आएको छ । आन्दोलनकर्मीले जिल्लावासीको जनजीवन कष्टकर बन्दै गए पनि सरकारले धनकुटालाई प्रदेश राजधानीको केन्द्र नतोकेसम्म आन्दोलन जारी रहने बताएका छन् । यसले जनजीवन थप कष्टकर बन्ने देखिएको छ ।

चरणबद्ध रुपमा हुँदै आएको आन्दोलन गत बुधबारदेखि भने उग्र बन्दै गएको छ । बन्दमा अवज्ञा गरेको भन्दै केही सवारी साधनमा पनि तोडफोड गरिएको छ ।

आन्दोलनकै क्रममा आइतवार जिल्लामा प्रदेश कार्यालयहरु स्थापना गरिएको छ । प्रदेश कार्यालय खोल्नुअघि जुलुस सुरु प्रदर्शन गरिएको थियो ।

यता प्रदेश नं. १ को राजधानी माग गर्दै काठमाडौंमा पनि धर्ना जारी छ । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै सरोकारवालाहरूले धर्ना दिएका छन् ।

भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकै सोमबार बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिएका हुन् ।

अभियानमा समितिका संयोजक उमेश घिमिरेका अनुसार पुस २७ मा मन्त्रिपरिषदको बैठक बस्ने भएकोले सो दिन पनि वालुवाटारमा धर्ना दिइने छ ।

सोमबार अभियानमा संयोजक उमेश घिमिरेको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा प्रदेशसभा धनकुटाका सांसद इन्द्रमणी पराजुली, विना राई, कुसमकुमारी श्रेष्ठ, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, अञ्जना ताम्ली, समाजसेवी राजेन्द्रबहादुर प्रधान, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, पूर्व सभापति हरी अधिकारी, नेकपा माओवादी केन्द्र धनकुटाका नेता गिता खेवा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाली कांग्रेस धनकुटा काठमाडांै सम्पर्क समितिका सभापति भीम थापा, नेकपा एमालेका सम्र्पक मञ्चका अध्यक्ष तिलक कार्की, उपाध्यक्ष यूवराज दर्नाल, लगायतको धनकुटा र चौविस काठमाडौ समाज लगायतका विभिन्न संघ संस्थामा पदाधिकारीहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस