प्रदेश सांसद भन्छन्, तराईको बढ्दो जनसंख्याले प्रदेशको राजधानी थेग्न सक्दैन

Indramani parajuli

धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै धनकुटेलीले केही दिनदेखि धनकुटा बन्दलाई निरन्तता दिँदै आएका छन् । धनकुटा बन्दले धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । धनकुटामा त आन्दोलन जारी नै छ, काठमाडौंमा समेत प्रदेशको राजधानी माग्दै आन्दोलन भइरहेका छन् । यसरी काठमाडौंमा आएर आन्दोलन गरिरहनेमा पर्छन् प्रदेश सांसद इन्द्रमणी पराजुली । उनी २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनकुटा प्रदेश नं. (ख) बाट निर्वाचित भएका छन् । प्रस्तुत छ, उनै पराजुलीसँग निशान न्युज डटकमका लागि गोपाल बराइलीले गरेको कुराकानीको सम्पादित अंश

अहिले तपाईहरु राजधानीमा आएर धनकुटालाई १ नं. प्रदेश बनाउनुपर्छ भनेर अभियान चलाई रहनुभएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

हामीले विना कारण र तर्क धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्छ भनेर आन्दोलन गरिहेका छैनौं । धनकुटा आफैँमा अहिलेसम्म पूर्वाञ्चल क्षेत्रको केन्द्र हो । हिजो राणाकालमा पनि केन्द्र नै थियो । पञ्चायतमा पनि केन्द्र नै रह्यो र अहिले लोकतन्त्रमा पनि केन्द्र नै रह्यो । त्यसका अलावा धनकुटालाई प्रदेशको राजधानी बनाउँदा १ नं. प्रदेशमा रहेका पहाडको विकास गर्न सजिलो छ । त्यही भएर पनि हाम्रो आन्दोलनप्रति सबैको ऐक्यवद्धता पनि रहेको छ ।

तपाईहरुले राजनीतिक दलहरुका शीर्ष नेताहरुलाई पनि भेटेर ज्ञापनपत्र बुझाइसक्नुभएको छ । के पाउनुभयो त प्रतिक्रिया ?
अहिलेको राजनीति भनेको जहाँ बढी जनसंख्या छ, जहाँ बढी मान्छेको फौज छ, जहाँ अलिक बढी पहुँच पुग्छ, त्यतैतिर ढल्किने अवस्थामा पुगेको छ । राजनीतिक नेतृत्व पनि पहुँचको दवावमा रहनुपर्ने अवस्था आएको छ । त्यसैले अहिले नेतृत्वमा पहुँचवालाहरुको दबाब बढी छ । त्यही दवावले होला सायद हाम्रा नेतृत्वहरु कतै अल्झिनुभएको छ । उहाँहरु तराई केन्द्रित मात्रै हुनुभएको छ । तर पनि हामीले तर्कसंगत कुरा राख्दा उहाँहरु सकारात्मक हुनुहुन्छ ।

धनकुटालाई नै प्रदेशको राजधानी बनाउनुपर्ने कारण के छ ?
राणाकालमा पनि धनकुटा प्रशासनिक केन्द्र थियो, वहुदलीय व्यवस्था आएपछि र गणतन्त्र आएपछि पनि क्षेत्रीय प्रशासन कार्यालयको केन्द्र यही छ । पूर्वको प्रशासक बसेर अहिले पनि शासन चलाइरहेको अवस्था छ । हामीले अहिलेको केन्द्रलाई कायम राखियोस् मात्रै भनेका छौं । अबको विकास भनेको दक्षिण केन्द्रित होइन, उत्तर केन्द्रित हुनुपर्छ । अब सेवा सुविधालाई उत्तरतिर विस्तार नगर्ने हो भने उत्तरका बस्तीहरु दक्षिणतिर सर्दै जान्छ । अहिले पनि उत्तरतिरका बस्ती खाली हुन थालेको अवस्था छ पहाडका बस्तीहरु उजाड बन्दै गएका छन् । वास्तवमा १७ प्रतिशत तराई र ८३ प्रतिशत पहाड र हिमालबाट बनेको यो १ नं. प्रदेशको विकास उत्तरतिर विस्तार नगर्ने र नयाँ खालका विकासका गतिविधीहरु सञ्चालन नगर्ने र त्यहाँको सम्भावनाहरुलाई विकासतिर ध्यान केन्द्रित नगर्ने हो भने अब तराईले १ नं. प्रदेशको जनसंख्यालाई धान्न सक्दैन । अहिलेको विकासको असन्तुलनलाई मिलाउने हो भने नयाँ नेपाल निर्माण गर्ने सोचलाई परिवर्तन गरिनुपर्छ । त्यसको निम्ति पनि धनकुटा अहिले पनि १ नं. प्रदेशको राजधानी हुन अनुकुल छ । अब धनकुटा मात्रै हैन, धनकुटादेखि उत्तरतिरका जिल्लाहरुका शहर र बस्तीहरुलाई नया ढंगले सेवा सुविधा विस्तार गर्दै विकास गरेर जानुपर्छ । त्यसका लागि एक मात्र केन्द्र भनेको धनकुटा हो ।

राजनीतिक हैसियत कायम गर्ने नेतृत्व नभएका कारण पनि धनकुटा प्रदेश राजधानी बन्न सक्दैन भन्ने प्रतिक्रिया आइरहेको छ । के साच्चै हो त ?
जहाँ आफु जन्मेका छ, जहाँ आफु हुर्केको छ, त्यसलाई केद्रिय भागमा राखेर विकासका सम्भावना खोज्ने प्रवृत्ति बढ्दै गएको छ । त्यो नै गलत छ । त्यही कारण नै अहिले मुलुकको बिकास हुन सकेन । धनकुटामा तपाईले भनेको जस्तो नेतृत्व नै नभएको होइन, मात्र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तिको अभाव देखियो । तर, अन्य जिल्लामा शक्ति र सत्तामा बस्ने नेताहरु धेरै छन् । यसर्थ पनि त्यसो भनिएको हुनसक्छ । तर, धनकुटा हरेक कोणबाट सक्षम छ । हामी नेतृत्वमा कमजोर हौला, केन्द्रको पहुँचमा कमजोर होला । तर, वस्तुगत आधार र विकासको सम्भावनाको हिसाबले मजबुत छौं ।

तपाई धनकुटाबाट निर्वाचित सांसद पनि हुनुहुन्छ । तर, तपाईहरुले त पहाडका अन्य जिल्लाका सांसदहरुसँग प्रदेशको राजधानी बनाउने विषयमा पर्याप्त छलफल नै गर्नुभएन भन्ने आरोप पनि छ नि त ?
हामीले धनकुटालाई प्रदेशको राजधानी बनाउने सवालमा विभिन्न जिल्लामा माननीयहरुसँग पनि छलफल गरेका छौं । सिंगो पहाडी क्षेत्रका माननीयहरुको साथ र समर्थन छ । तर पनि विविध कारणले काठमाडौं आउनु सक्नसभएको छैन र उहाँहरु आन्दोलनमा सरिक हुन सक्नुभएको छैन । उहाँहरु नआए पनि आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको छ । कतिपय कुरामा उहाँहरु खुलेर बोल्न सक्नुभएको छैन । यसलाई हामीले स्वीकार गर्नुपर्छ ।

अहिले धनकुटा पनि बन्द छ, काठमाडौंमा पनि तपाईहरु आन्दोलन गरिरहनु भएको छ । धनकुटाको बन्द र काठमाडौंमा आन्दोलन जारी रहन्छ ?
खासगरी धनकुटाको पहिचानलाई नमेटियोस् भनेर आन्दोलन भइरहेको छ । धनकुटा अहिले पनि सबै हिसाबले १ नं. प्रदेशको केन्द्रमा छ । सबै हिसाबले १ नं. प्रदेशको नेतृत्व गर्न सक्छ । हिमाल, पहाड तराईलाई सन्तुलनमा राखेर १ नं. प्रदेशको विकासको केन्द्र बनेर काम गर्न सक्छ । धनकुटा ले भन्ने हिसाबले हामीले धनकुटाको पहिचान नमेटियोस् र धनकुटाको आफ्नो हैसियत कायम राखियोस् भनेर आन्दोलन सुरु भएको हो । हाम्रा मागलाई शान्तिपूर्ण तरिकाले सरकारका सबै निकायलाई बुझायौं । तर पनि सुनवाई नभएपछि धनकुटेली जनता आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । अझैं पनि हामीले सरकारलाई खवरदारी गरिरहेका छौं । यसैको सिलसिलामा धनकुटा बन्द भएको हो । हाम्रो मागलाई सरकारले सुनवाई नगरेसम्म धनकुटेली जनताले आन्दोलनलाई जारी जारी नै राख्ने छन् । अहिले त हामी शानितपूर्ण आन्दोलनमा छौं, यदी सरकारले हाम्रा मागलाई पूरै वेवास्था गरेको खण्डमा जस्तोसुकै आन्दोलन गर्न पनि हामी पछि पर्ने छैनौं ।

धनकुटा राणाकालीन दौडा भए पनि धनकटाले पर्याप्त विकास गर्न नसकेको छिमेकी जिल्लाहरुले आरोप लगाउने गर्छन् । के साच्चै हो त धनकुटाले लामो समयसम्म विकास गर्न नसकेको ?
राणाकालीन व्यवस्था संवेदनशील अवस्था थियो, पञ्चायतकालीन अवस्था पनि त्यस्तै थियो । त्यसमा पनि धनकुटा आफैं पनि राजनीतिक महत्व बोकेको ठाउँ हो । राणाकालदेखि नै पञ्चायतविरुद्ध भएको छिन्ताङे जनताले ज्यान दिए । परिवर्तनका लागि छिन्ताङका १५ जनाले सहादत प्राप्त गरे । १० वर्षे द्धन्द्धकालीन समयमा पनि धनकुटेली जनताले ज्यान गुमाएका छन् । तथापि अन्य जिल्लाको तुलनामा धनकुटा र यस आसपासका जिल्लामा विकास भएकै हो । नभएको भन्न मिल्दैन । तर पनि जति हुनपर्ने हो, त्यति नभएको चाँही सत्य हो । तर, अहिले प्रदेश राजधानी बनाउन चाहिने जति सबै पूर्वाधारको विकास धनकुटाले गरेको छ, तराईका सम्पन्न भनिने जिल्लामा भन्दा पनि पर्याप्त भौतिक संरचनाहरु धनकुटामा बनेका छन् ।

बरु ०४८ सालको जे नयाँ परिवर्तन भयो, धनकुटाका अधिकारलाई हेप्ने प्रयत्न गरियो, धनकुटाको मुल आत्मालाई मार्न खोजियो । तर पनि हामीले संघर्ष गरेर हाम्रो हैसियतलाई कायम राख्दै आयौं । अहिलेको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा धनकुटाको ऐतिहासिक पहिचानलाई खोस्न खोजिँदैछ, त्यो हाम्रा लागि कदापि स्वीकार्य हुँदैन ।

प्रतिकृया दिनुहोस