एकै दिन उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

Bagmati safai

काठमाडौं । वाग्मति सफाई अभियान तीव्र बनाइएको छ । यसैक्रममा शनिवार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको २४३ औँ हप्तामा कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौं महानगरपालिका लगायतको संस्थागत सहभागिता रहेको थियो ।

रुद्रमती सफाइको १९८औँ हप्तामा शनिवार आनन्द भैरव मन्दिर ज्ञानेश्वर–शहीदमार्ग–कालोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । त्यसैगरी विष्णुमती नदी सफाइको १७१औँ हप्तामा आज टोखा नगरपालिका–११ बानियाँटारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

गुह्येश्वर माथिको वाग्मती सफाइको २०४ हप्ताका अवसरमा आज वाग्मती स्तम्भ, गोठाटार पुल र हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै नदी किनारमा रोपिएको बगैँचामा गोडमेल गरी पानी हालिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

२०७० फागुन ३ देखि गुह्येश्वरमाथिको वाग्मती सफाइ अभियान शुरु भएको थियो । वाग्मती किनारकै मानिसलाई सफाइमा सक्रिय गराउने उद्देश्यअनुरुप अभियान सञ्चालन भइरहेको छ ।

चक्रपथ सफाइको ३९औं हप्तामा शनिवार धूम्बाराही चोकदेखि सुकेधारा चोकसम्म सफा गरेर १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

प्रतिकृया दिनुहोस