ब्राजिलका पूर्व मिडफिल्डर काकाले लिए सन्यास

 99245012 kaka getty2

पुस । ब्राजिलका पूर्व मिडफिल्डर काकाले फुटबलबाट सन्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास लिएका काकाले पूर्ण रुपमा खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।

सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका काकाले आइतबार सन्यासको घोषणा गरेका हुन् । स्पेनिस क्लब रियल मड्रिड तथा इटालियन क्लब एसी मिलानका पूर्व खेलाडी काकाले अहिले एमएलएस क्लब ओरल्याण्डो सिटीबाट खेल्दै आएका थिए ।

ब्राजिलियन क्लब साओ पाउलोबाट खेल जीवन सुरु गरेका काकाले आफ्नो खेल जीवनको अन्तिम खेल गएको अक्टोबरमा ओरल्याण्डोका लागि खेलेका थिए । काका विश्वकप, युरोपियन कप÷च्याम्पियन्स लिग र बालोन डी’ओर तीनै उपाधि जित्ने ८ खेलाडी मध्ये एक हुन् ।

जिससलाई निकै मान्ने काकाले जिससलाई नै सम्बोधन गर्दै ट्वीट गरेर सन्यास लिएको र जीवनको अर्को चरणका लागि तयार रहेको बताएका हुन् । काकाले ब्राजिलबाट ९२ खेलमा २९ गोल गरेका छन् । सन् २००२ मा ब्राजिलबाट विश्वकप जितेका काकाले सन् २००७ मा एसी मिलानबाट च्याम्पियन्स लिग र त्यहिवर्ष व्यक्तिगत रुपमा बालोन डी’ओर अवार्ड जितेका थिए ।

सन् २००३ देखि २००९ सम्म एसी मिलानमा रहँदा उनले सन् २००४ मा सिरी ए तथा सन् २००७ मा क्लब विश्वकपको उपाधि पनि जितेका थिए । सन् २००९ को जुनमा त्यो बेलाको कीर्तिमानी मूल्य ५६ मिलियन पाउण्डमा रियल मड्रिड गएका काकाले सन् २०११ मा कोपा डेल रे तथा सन् २०१२ मा ला लिगाको उपाधि जिते ।

घुँडाको इन्जुरीका कारण समस्यामा परेका काका सन् २०१३ मा फेरि मिलान नै फर्किए । अर्को वर्ष उनी ओरल्याण्डो सिटी गएका हुन् । काकाले जस्तै विश्वकप, युरोपियन कप वा च्याम्पियन्स लिग र बालोन डी’ओर जित्ने अरु खेलाडीमा बबी चाल्र्टन, गेर्ड मुलर, फ्रान्ज बेकेन्बाउर, पाओलो रोसी, जिनेदिन जिदान, रिभाल्डो र रोनाल्डिन्हो रहेका छन् ।

प्रतिकृया दिनुहोस