सुनीलबहादुर थापा भन्छन्, म राजेन्द्र राईले जस्तो गाली गलौज गर्दिन

Sunil tapa 18

नेपाली राजनीतिमा उदयमान व्यक्ति हुन् सुनीलबहादुर थापा । देशका एक सफल मनत्री हुन् उनी । जसले दुई पटक मन्त्री बन्दासमेत एक पैसा भ्रष्टचार गरेन । उनले भने जस्तो जिल्लमा विकास नगरेको भए पनि अन्य नेताहरुले जस्तो वेइज्जती हुने काम गरेका छैनन् । धनकुटामा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री समेत थापा उम्मेदवार बनेका छन् । वर्तमान सरकारका उद्योग मन्त्रीसमेत रहेका थापा चुनावी अभियानमै केन्द्रित छन् । प्रस्तुत छ, चुनावी एजेण्डा र निर्वाचनमा विषयमा निशान न्युज डटकमका लागि गोपाल बराइलीले गरेको कुराकानी । 

तपाई निर्वाचनमा व्यस्त भएर लाग्नुभएको छ । के छन् तपाईका मुख्य एजेण्डाहरु ?
निर्वाचनमा भाग लिँदा एजेण्डाले मात्रै मुख्य हुँदैन । निर्वाचन जित्न जनताको मन जित्नुपर्छ । मैले कहिले पनि खोक्रो आश्वासन बाढ्ने काम गरिनँ । योभन्दा पहिले पनि म राजेन्द्र राईसँगै प्रतिष्पर्धा गरेको मान्छे हो । राजेन्द्रजीले जनतामा जादाँ यो वा त्यो गर्छु भन्नुभएको थियो । के गर्नु भयो र गर्नु भएन, म त्यतातिर जान चाहन्न । तर म जे बोल्छु, त्यो कुरा पूरा गर्छु । जनताको भावनाअनुसार नै मैले काम गर्ने हो ।
मूलभुत रुपमा धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने हो । बेलहरामा एयरपोर्ट बनाउने हो । पाख्रिवासमा कृषी विश्व विद्यालय बनाउने हो । अर्काे कुरा धनकुटाको पहिचान जोगाउनु लोकतान्त्रिक गठबन्धनको प्रमुख लक्ष्य हो । पहिले सूर्यबहादुर थापाले धनकुटालाई उच्च राख्नुभएको थियो । धनकुटाको पहिलेको शान मान सबै घटेर गएको छ । हामी त्यसलाई फेरि व्यूत्याँएर धनकुटालाई सर्वश्रेष्ठ जिल्लाको रुपमा विकास गर्न चाहन्छौं ।

तपाईले धनकुटालाई प्रदेश राजधानी बनाउने कुरा त गर्नु भयो । के छन् आधारहरु ?
सबै कुरा पूर्वाधार भएर मात्रै पनि हुँदैन । फेरि यहाँ पूर्वाधारहरुको कुनै अभाव छैन । सबै कार्यालयहरुका आफ्नै भवन छन् । त्यति मात्रै होइन, सबै जिल्लासँगको सडक पहुँच पुगेको छ । त्यति मात्रै होइन, संविधानले नै सबै ठाउँमा पहुँच पु¥याउने कुरा उल्लेख गरिएको छ । तर, अहिले कायम भएको सात प्रदेशमध्ये पाँच वटा त प्रदेशको राजधानी तराईमा छन् । संविधानको भावनालाई कदर गर्ने हो भने त कम्तिमा पनि दुईटा त पहाडमा पनि हुनुप¥यो नि । अनि पो समानता हुन्छ । विकास भएको ठाउँमा मात्रै राजधानी बनाउने हो भने त अरु ठाउँको विकास कहिले हुन्छ ? त्यसका अलावा धनकुटा बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक पहिचान भएको जिल्ला हो । यहाँ नेवार, किँराती, लिम्बु, क्षत्री बाहुन, दलित सबै जातिको बसोबास भएको जिल्ला हो । यहाँ सबै धर्म मान्नेहरु पनि छन् ।

तपाई त प्रतिनिधिसभाको उम्मेदवार हो । संविधानले त प्र्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने भन्ने छ । तपाईले चाँही प्रदेशको राजधानी कसरी बनाउनुहुन्छ ?
म प्रतिनिधिसभाको उम्मेदवार नै हो । नयाँ संविधानले प्रदेशको राजधानी तोक्ने काम प्रदेशलाई नै दिएको छ । त्यो म मान्छु । तर, त्यो सबै काम राजनीतिक सहमतिका आधारमा हुन्छ । म प्रतिनिधिसभामा भए पनि मैले बारम्बार धनकुटालाई प्रदेशको राजधानी बनाउन पहल गर्नेछु र विगतदेखि नै गरेको पनि छु । त्यसो भएको हुँदा राजनीतिक सहमति गराउने काम मेरो हो । त्यसमा धनकुटेली जनता ढुक्क भए हुन्छ ।

राजनीतिक सहमतिको वातावरण मिलाउँछु भनेर मात्रै प्रदेशको राजधानी बनाउन सम्भव होला र ?
जे कुरा पनि राजनीतिक सहमतिकै आधारमा हुँदै आएको छ । त्यसमा पनि पहिले पहिलेदेखि धनकुटाको विकासमा लागि मेरो बुवा स्व. सूर्यबहादुर थापाले कहिले पनि कसैसँग झुक्नुभएन । यहाँले धनकुटाबाट अन्यत्र लगिएका क्षेत्रीय कार्यालयहरुलाई डटेर यही ल्याउनुभएको उदाहरण तपाई हामीसामु छ । त्यो कुरा हामीले कहिले पनि बिर्सनुहुँदैन ।

तपाईले अघिल्लो पटक निर्वाचनताका बोलेको कुरा पूरा गर्नुभएन भन्ने आरोप छ, के सत्य हो ?
मैले पहिले जनताको घर दैलोमा पुग्दा मुख्यगरी चारवटा कुरा बोलेको थिए । त्यो कुरा पूरा गरेको छु । विकासका काम पनि उत्तिकै गरेको छु । राष्ट्रिय सवालमा झन धेरै ठूल्ठूला कामहरु गरेको छु । म बाणिज्य तथा आपूर्ती मन्त्री बन्नुभन्दा पहिले नेपाल आयल निगम अर्बाैको घाटामा थियो । म मन्त्री बनेपछि स्वचालित मुल्य प्रणाली लागू गरे । त्यसपछि नेपाल आयल निगमको ३८ अर्ब ऋण चुक्ता भएको छ । त्यसैको परिणामस्वरुप आयल निगम अहिले ८ अर्बभन्दा बढीको नाफामा छ । मैले मेरै पालामा भारतबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाईन विस्तारको सम्झौता भयो । यो जस्तो ठूलो काम कसैले पनि गर्न सकेनन । जिल्लाको साना ठूला विकासको काममा म कहिले पनि पछि परिनँ । संसदीय कोषको रकम पारदर्शी ढंगले जनताको काममा लगाएँ । त्यसैले मैले समग्र धनकुटा र देशका लागि ठूलो काम गरेको छु ।

तपाई निर्वाचनको कार्यक्रममा व्यस्त हुनुहुन्छ । तर, तपाईले त निर्वाचन आयोगको आचारसंहिता विपरित गाली गलौजमा लाग्नुभयो भन्ने आरोप छ नि ?
निर्वाचन आचारसंहितामा कसैलाई गाली गलौज गर्नुहुँदैन भन्ने कुरा राम्रोसँग थाहा छ । त्यही भएर अहिलेसम्म मैले कसैलाई गाली गलौज गरेको छैन र गर्दिनँ पनि । किनकी मैले जनताको मत जितेको छु भने अरुलाई गाली गरेर के काम ? तर, मेरा प्रतिपक्षी वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईजीले मलाई हत्याराका छोरा भनेर गाली गर्दै आउनुभएको छ । यसलाई चाँही तपाई निर्वाचन आचारसंहिता विपरित भएको ठान्नुहुन्छ किन ठान्नुहुन्न ? तपाईको नजरमा त्यो भन्न मिल्छ कि मिल्दैन ? तर, उहाँले त्यति मात्रै होइन, मलाई अनेकथरी गाली गर्नुभएको छ । त्यो यहाँको हार मानसिकताको उपज हो ।

तपाईले छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई राष्ट्रिय सहिद बनाउने घोषणा गर्नुभयो । तपाई मन्त्री भएको बेला त घोषणा गर्नुभएन भने अब कहिले गर्नुहुन्छ ?
तपाईले साह्रै महत्वपूर्ण प्रश्न उठाउनुभयो । अहिले एमाले लगायतका वाम गठबन्धनका मित्रहरुले छिन्ताङका सहिदका नाममा बडो ठुल्ठूला कुरा गर्नुभएको छ । त्यो सुन्दा मलाई अचम्म लाग्छ । मलाई छिन्ताङ प्रवेशमा रोक लगाउने कुरा गर्नुभयो । तर, छिन्ताङवासीको मायाले गर्दा म छिन्ताङ पुगे । म पुग्दा रातो तुल टाँगेको देखे । हेर्दा अचम्म लाग्यो । त्यो तुलमा छिन्ताङ काण्डमा मारिएकालाई राष्ट्रिय सहिद घोषणा गर्न र न्यायीक छानविन होस भनेर लेखिएको रहेछ । नेपालमा बहुदलीय व्यवस्था आएपछि नेकपा एमालेका तर्फबाट ४ जना प्रधानमन्त्री भइसक्नु भएको छ । ११ पटकभन्दा बढी सरकारमा गइसक्नु भएको छ । खोई त उहाँले छिन्ताङ काण्डमा मारिएकालाई राष्ट्रिय सहिद घोषणा गर्नुभएको ? ट्याक्सीले किचेर मारिएकालाई सहिद घोषणा गर्न सक्दा किन उहाँहरुले छिन्ताङ काण्डमा मारिएकालाई राष्ट्रिय सहिद घोषणा गर्ने हिम्मत गर्नुभएन ? मलाई के थाहा छ भने छिन्ताङ काण्डमा मारिएकालाई राष्ट्रिय सहिद घोषणा गर्ने बित्तिकै आफ्नो राजनीतिक गर्ने नारा नै हराउँछ भनेर उहाँहरुले कहिले पनि राष्ट्रिय सहिद घोषणा गर्नुहुन्न । त्यसकारण म जसरी पनि छिन्ताङ काण्डमा मारिएकालाई राष्ट्रिय सहिद घोषणा गरेरै छाड्छु ।

तपाईले अहिले जति मुद्दा उठाउनुभएको छ । त्यसलाई तपाई यो निर्वाचनमा विजयी हुनुभयो भने पूरा गर्नुहुन्छ त ?
अवश्य पूरा गर्छु । म मेरो जिल्लाको विकासका लागि जिते पनि, नजिते पनि सधैं लागिपर्ने छु । पहिले कुरा मलाई धनकुटेली जनताले समग्र जिल्लाको विकास र राष्ट्रलाई समुन्नतीको बाटोमा लैजानका लागि अत्याधिक मतले विजयी गराउनु हुने नै छ । निर्वाचनमा पराजित हुँदैमा जिल्लाको विकास गर्न म पछि पर्ने छैन । मैले विगतमा गरेको वाचा पूरा गरेका कारण पनि योपटक धनकुटेली जनताले मलाई निर्वाचित गराउनु हुनेछ । त्यसमा म ढुक्क छु ।

प्रतिकृया दिनुहोस