गोरखामा बलियो बन्दैछन् डा. बाबुराम

भट्टराईभन्दा कम छैनन् नारायणकाजी पनि

Baburam n narayan

गोरखा । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको सरगर्मी गोरखामा निक्कै बढेको छ ।

खासगरी माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी बनाएका डा.बाबुराम भट्टराई र एकीकृत माओवादी केन्द्रभित्रका निक्कै प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका कारण पनि गोरखा राजनीतिक चासोको केन्द्र बनेको छ ।

एउटै जिल्लामा जन्मिएर एउटै जिल्लामा हुर्किएका भट्टराई र श्रेष्ठबीच योपटक निक्कै टक्कर पर्ने अनुमान गरिएको छ । र, जित दुवैका लागि प्रतिष्ठाको विषय पनि बनेको छ ।

लोकतान्त्रिक गठबन्धन कांग्रेस–नयाँ शक्तिको तर्फबाट साझा उम्मेदवार बनेका भट्टराईलाई संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएर चुनावी मैदानमा साथ दिने भएका छन् । यसले भट्टराईको पल्लाभारी हुने आँकलन गर्न थालिएको छ ।

तथापि गोरखामा भट्टराई स्वयम्को संगठनात्मक अवस्था राम्रो नभएकाले उनलाई जितको बाटो भने सहज छैन । त्यसै पनि गोरखालाई माओवादीको पकट क्षेत्र मानिन्छ । त्यसमा पनि नेकपा एमालेसँगको कार्यगत एकताले माओवादीलाई निक्कै बलियो बनाएको छ ।

भट्टराईलाई सहयोग गर्न गोरखा २ बाट संघीय समाजवादीका सुकदेव तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । यसले केही मात्रामा भट्टराईलाई बलियो बनाउँछ कि भन्ने अनुमान गरिएको छ ।

श्रेष्ठले गोरखा गृहजिल्ला मै कहिले पनि निर्वाचनमा लड्न पाएका छैनन् । पहिलो संविधानसभामा उनी मन्त्रिपरिषद्बाट मनोनीत २६ जनाको टिममा परेर संविधानसभामा पुगेका थिए । तर, दोस्रो संविधानसभामा उनी मकवानपुर ४ बाट निर्वाचन उठे पनि जित्न सकेनन् ।

तर, बाबुरामले भने दुवै निर्वाचनमा गोरखाबाटै जितेका थिए । भट्टराईलाई पुरानो साख जोगाउन पनि जित्नै पर्ने अवस्था छ भने श्रेष्ठलाई जिल्लामा पहिलो जित दर्ता गराउनु छ । दुवै नेताको जित सिंगो पार्टीसँग जोडिएको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस