किन गरे पूर्वमन्त्री ढकालले कोरामै बैठकको अध्यक्षता ?

Kora mai baithak

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई क्रिष्चियन हुन् भन्ने आरोप लाग्ने गर्छ । त्यही भएर नेपाली सञ्चार माध्यमले बेलाबेला उनलाई क्रिष्चियनको प्रचारक भनेर खैरो खन्ने गर्छ ।

तर, उनलाई जे आरोप लाग्ने गरेको भए पनि उनले हिन्दु धर्म संस्कार अनुसार नै आफ्नी आमालाई दागबत्ति दिए । अहिले काजकिरिया गर्न कोरामा पनि बसेका छन् । हिन्दु मन्दिरहरुमा गएर पुजा गर्छन् । गाउँगाउँमा मन्दिर बनाउन खर्च पनि गर्छन् ।

यसले उनी क्रिष्चियन भएको आरोप लाग्ने गरेको भए पनि हिन्दु संस्कार अनुसार नै धार्मिक कार्य सम्पन्न गर्दै पनि आएका छन् । यसले उनलाई क्रिष्चियन हुन् भन्नेहरुका लागि गतिलो झापड पनि बनेको छ ।

तर तिनै ढकाल हुन्, जसले आफ्नो आमाको मृत्यु हुँदा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरे । अझ त्यो भन्दा अचम्मको कुरा त आमाको मृत्युको शोक नसकिँदै चुनावी एजेण्डा तय गर्न कोरामै बसेर केन्द्रिय समितिको बैठकको अध्यक्षतासमेत गरे ।

आखिर किन उनले कोरामै बसेको बेला केन्द्रिय समितिको बैठक बोलाए ? के उनी थप चर्चामा आउन त त्यसो गरिरहेका छैनन् ? यो प्रश्न उठिरहेका बेला उनले भने ‘पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्न बैठक बस्नुपर्ने भएकाले केन्द्रिय समितिको बैठक डाकिएको हो ।

ढकालकी ८२ वर्षीय आमा टंककुमारी ढकालको २१ असोज शनिवारका दिन चितवनमा मृत्यु भएको थियो । उनको सोही दिन हिन्दु संस्कार अनुसार नारायणी नदीमा दाहसंस्कार गरिएको थियो । यसलाई पनि कतिपयले एकनाथ ढकाललको आलोचना गरेका थिए । सो आलोचना सेलाउन नपाउँदै उनले केन्द्रिय समितिको बैठक बोलाएका थिए ।

यतिसम्म की हिन्दु संस्कारमा ठूला जातिका व्यक्तिले साना जातिका व्यक्तिसँग बोल्नुहुँदैन वा कुनै पनि व्यक्तिसँग दोहोरो संवाद गर्नुहुँदैन भन्ने मान्यता छ । तर, उनले मंगलबार बसेको केन्द्रिय समितिको बैठकमा सम्बोधनसमेत गरेका थिए ।

के भयो बैठकमा ?
चितवनको कालिका नगरपालिका –६ स्थित खोलेसिमलस्थित निवासमा पूर्वमन्त्रीसमेत रहेका ढकाल शनिवारदेखि आमाको कोरामा बसेका छन् । केही दिनअघि नेकपा एमालेसँग भएको ३ बुँदे सहमतिको समिक्षा, भावी निर्वाचनमा दलको सहभागिता आदी विषयमा छलफल गर्न पार्टीको केन्द्रिय समितिको बैठक बोलाइएको थियो ।

बैठकले एमाले र परिवार दलबीच भएको ३ बुदे सहमतिलाई अनुमोदन गरेको छ । त्यसैगरी परिवार दलको तर्फबाट उम्मेदवारको सिफारीस गर्न केन्द्रिय कार्य सम्पादन समितिलाई अधिकार दिएको छ ।

प्रत्यक्षमा लड्छु : ढकाल
पूर्वमन्त्री ढकालले सहमतिको आधारमा आफु प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने बताएका छन् । उनले पार्टीको केन्द्रिय समितिको बैठकमा राजनीतिक सहमतिका आधारमा प्राप्त हुने निर्वाचन क्षेत्रमा उम्मेदवार हुन तयार रहेको बताए ।

एमाले संगको चुनाबी गठबन्धन मुलुकमा स्थिरता र विकासको लागि भएको दावी गरेका छन् । उनले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर एमालेसँग सहकार्य जरुरी भएको उनको ठहर छ ।

उनले भने, ‘अहिलेको अवस्थामा गठबन्धन जरुरी थियो, त्यही भएर पनि एमालेसँग हामीले गठबन्धन गरेका हौं ।’ ढकालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस