मोहन बैद्य भन्छन्, वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति

Baidha pokhara

पोखरा । सबै बाम शक्तिहरु एक भइरहेका बेला एक बाम नेताले भने यसलाई सत्ता कब्जा गर्ने रणनीतिको रुपमा मात्रै लिन सकिने बताएका छन् । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले बाम एकताको जतिसुकै हल्ला गरिए पनि त्यो एकता नभएको र अहिलेको गठबन्धनले सत्ता कब्जा गर्न मात्रै सजिलो बनाउने बताए ।

अध्यक्ष बैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको ठोकुवा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष वैद्यले भने, ‘दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वाम गठबन्धन भन्न नसकिँदैन ।’

पहिले नै बाम एकता गरेको भए सम्भव हुने थियो’ उनले भने, ‘अहिलेको अवस्थामा बाम एकता होला भनेर कसैले कल्पना गर्छ भने त्यो मुर्ख विचार मात्रै हो ।’ तर उनले सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्ने अवस्था चाँही आएको छ ।’

प्रथम राष्ट्रिय सम्मेलनमा पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेल, केन्द्रीय सदस्य रामसिंह श्रीश, स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, नेकपा मसालका केन्द्रीय सदस्य रामप्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली लगायतले क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकतामा जोड दिए ।

पाँच दिनसम्म चल्ने सो सम्मेलनमा सबै जिल्लाका करिब ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता छ ।

प्रतिकृया दिनुहोस