भब्यरुपमा महाअष्टमी पर्व मनाइँदै

Astami parwa

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं हिन्दुहरुले खुसीयालीपूर्वक मनाइरहेका छन् । बुधबार भब्यरुपमा फुलपाती मनाएका हिन्दुहरुले विहीबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाउँदैछन् ।

आठौं दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्ति पीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

महाअष्टमीका दिन उपत्यकालगायत देशभरका मन्दिरहरुमा बली चढाइने गरिन्छ । आज विहीबार काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ ।

महाअष्टमी पर्वका अवसरमा उपत्यकाभित्रि मात्रै होइन, देशभरका मन्दिरहरुमा पुर्जाअर्चना गर्नेहरुको भीड लाग्ने गर्छ । राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, धनकुटाको निशान मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

 

प्रतिकृया दिनुहोस