मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराउनुपर्छ : महासचिव पोखरेल

Ishwor pokhrel

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताए ।

टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उनले भने ‘जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग प्रष्ट दृष्टिकोण छ ।’

महासचिव पोखरेलले जैविक विविधताले भरिएको देशको हावापानी, भौगोलिक अवस्थालगायतलाई नजिकबाट आफूहरुले अध्ययन गरिरहेको उल्लेख गर्दै फरक फरक क्षेत्रमा अलग अलग स्रोत र साधनको सम्भाव्यता देखिएको छ, जहाँ जे उत्पादन गर्दा जनता लाभान्वित हुन्छन्, त्यहाँ लगानी बढाउनुपर्छ, ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

स्थानीय सम्पदा संरक्षण अभियानका अध्यक्ष मनिराज डंगोलले प्राचीन नगरी टोखाका महत्वपूर्ण संस्कृति तथा सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्ने आवश्यकता औल्याए ।

टोखा नगरपालिका–६ पार्टी कमिटी प्रमुख भगवान केसीले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा एमालेले सबै दलसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस