नागढुंगाबाट २८ मरेका खसीबोका बरामद  

2654437 orig

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ ।

प्रभागबाट खटिएको टोलीले बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको फेला पारेको जानकारी दिए ।

दशैँ शुरु भएसँगै पशुपक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले आज कलंकीस्थित खसीबजारको निरीक्षण गरे ।

खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ्य र अस्वस्थ्य खसीको वर्गीकरण गरी दशैँ, तिहार तथा छठपर्वमा बिक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिए ।

पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका ५ सय देखि ५ सय जरिवाना गर्ने व्यवस्था छ ।

 

प्रतिकृया दिनुहोस