१७ वटा स्थानीय तहसहित ५ सय ७८ वडाको मतपरिणाम सार्वजनिक

Mat ganana

काठमाडौँ । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते निर्वाचन भएका स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट आज दिउँसो १ बजेसम्म प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस छ, नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम २/२ र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले एक स्थानीय तहमा विजयी भएका छन् ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म ५ सय ७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका १ सय १८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

मतगणना कार्यलाई शीघ्र सम्पन्न गर्न हाल ३ सय ३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका–१५ मा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

प्रतिकृया दिनुहोस