कसले गर्ला गोपाल खड्कालाई कारवाही ?

Gopal khadka non

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खडकालाई जिम्मेवारीबाट अलग गर्न संसदको सुशासन समितिले सरकारलाई पत्र पठाएको छ । तर, सरकार भने कारवाही गर्ने भन्दा पनि बचाउँ गर्न तम्तयार देखिएको छैन ।

खड्कालाई कारवाही गर्न विभिन्न समितिले यसअघि ३ पटक त्यही व्यहोराको पत्र पठाइसकेको थियो । कारबाही गर्न निर्देशन दिने सुशासन चौथो संसदीय समिति हो । तर, सरकारले यसअघिका पत्रलाई कार्यान्वयन गरेको छैन । सरकारले कारवाही गर्न आँट नगर्दा नै खड्काले नेपाल आयल निगमबाट अर्बाै रुपैयाँ घोटाला गरिसकेका छन् ।

अघिल्लो वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा इन्धनको कालाबाजारीमा पनि खड्का संलग्न थिए । उनकै संरक्षणमा कालाबजारीहरुले जनतालाई प्रतिलिटर ५ सय भन्दा बढी लिएर पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको थियो ।

कुनकुनले गरे कारवाहीको सिफारीस ?

संसदको उपभोक्ता हित तथा संरक्षण समितिले गत सोमबार मात्रै निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै निगम सञ्चालक समिति र खड्कालाई कारवाही गर्न सरकारलाई सिफारीस गरेको थियो ।

संसदको लेखा समितिले पनि विभिन्न समयमा निगमभित्र भएका अनियमिततामा खड्का संलग्न रहेको भन्दै कारवाही गर्न सिफरीस गरेको थियो । सो समितिले त जग्गा खरिद प्रकरणमा अनियमितताको ठहरसहित कारवाही गर्न अख्तियारमा पत्रै पठाएको थियो ।

अर्थ समितिले पनि जग्गा खरिद प्रकरणमा अनियमितता भएको र संस्थागत भ्रष्टचार भएको भन्दै कारवाहीको सिफारीस ग¥यो । सांसद सांसद अब्दुल रजाकको संयोजकत्वमा गठन भएको उपसमितिले टेण्डर प्रक्रिया नै गलत भएको ठहर गरेको थियो । तर, अहिलेसम्म खड्कालाई कारवाही गर्न सरकारले सकेको छैन ।

किन हुँदैन कारवाही ?

उनी सडक डिभिजन कार्यालयमा हुँदा पनि शनिवारको दिन अफिसमै बसेर लखौं रकम झ्वाम पार्न सफल भएका थिए । तर, शक्तिको आडमा उनी जहिले पनि आफु चोखिने र अरुलाई फसाउन खप्पिस माहिर मानिन्छन् ।

उनी नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सिफारीसमा तत्कालीन बाणिज्य तथा आपूर्ती मन्त्री सुनीलबहादुर थापाले नेपाल आयल निगममा प्रवेश गराएका थिए ।

त्यसबेलादेखि नै विवादमा तानिएका खड्का र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीबीचको पारिवारिक सम्बन्धका कारण अख्तियारले कुनै प्रकारको कारवाही गर्ने आँट गरेको थिएन । त्यसैका आधारमा पनि उनले पछिल्लो समयसम्म ‘बाघ’झै कुर्लिरहेका थिए ।

उनलाई कारवाही गर्न नसक्नुका पछि विभिन्न कारण छन् । पहिलो कुरा उनी पैसाका सवालमा अत्यन्तै चलखेल गर्न सक्ने व्यक्ति हुन् । उनी पैसा भएपछि संसर किन्न सकिन्छ भन्ने सोच राख्ने व्यक्ति पनि हुन् ।

अर्काे कुरा उनी शक्तिका लागि जति पनि पैसा खर्च गर्न सक्ने हैसियत राख्छन् । त्यही भएर पनि जुनसुकै सरकार आए पनि हम्मेसी कारवाही गर्ने हिम्मत गर्दैनन् । मन्त्री बनेको केही समय बुरुक्क उफ्रिए पनि खड्काको ‘धाम मार्ने’मा परेपछि ‘नुन खाएको कुखुरा’झै हुने गरेका यथार्थ सबैका सामु छ । त्यही भएर पनि कुनै पनि समितिले जस्तो सुकै सिफारीस गरेका भए पनि अहिलेसम्म कारवाही हुन सकेको छैन ।

चार वटा समितीले एउटै निष्कर्ष निकाल्दासमेत यसमा सरकार मौन छ । खड्कालाई चोख्याउने प्रयासस्वरुप कुनै दिन आपूर्तिमन्त्री शिवकुमार मण्डलले निगममा अनियमितता नभएको अभिव्यक्ति दिन भ्याएका थिए ।सुशासन नीति तय गर्ने पहिलो निर्णयबाटै कामको सुरुवात गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यससँगै जोडिएको महत्वपूर्ण विषयमा आखा चिम्लिएका छन् ।

अनियमितताको अंक, त्यसमा जोडिएका व्यक्तिहरुसहित सम्पूर्ण कानून उल्लंघन गरेको विषयमा सूचना सार्वजनिक भइसक्दा पनि सरकारले एउटा संस्थानको कार्यकारी प्रमुखलाई कारबाही गर्न सकेको देखिदैन । त्यसका अलावा अहिलेसम्म अख्तियारले पनि खड्कालाई हात हाल्ने प्रयास गरेको छैन ।

प्रतिकृया दिनुहोस