काठमाडौंमा कर्णाली सांस्कृतिक उत्सवको रौनक

Karnali mahaotsab

काठमाडौं । ‘नजर फेरौँ र कर्णाली हेरौँ’ भन्ने मूल नाराका साथ राजधानीमा कर्मथलो बनाएका कर्णालीवासीले कर्णाली उत्सव मनाएका छन् ।

भृकुटीमण्डपमा गरिएको कर्णाली बृहत् सांस्कृतिक उत्सवमा ‘हुड्के’, ‘दमा’ नाच, देउडा खेल, ‘ठाडी’ भाका तथा कर्णालीको भोट क्षेत्रको प्रख्यात ‘स्याप्रु नाच’ प्रस्तुत गरिएको थियो ।

कर्णाली अञ्चलका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटको सांस्कृतिक पहिचान झल्कने प्रस्तुतिले उपस्थित सर्वसाधारणमा निकै रौनकता छाएको थियो । सो उत्सवमा कर्णाली क्षेत्रको परम्परागत संस्कृति झल्कने नृत्य, झाँकी तथा गीत संगीत प्रस्तुत गरिएको थियो ।

कर्णाली उत्सव सुरु गर्नुअघि कर्णालीको विविध संस्कृति झल्कने झाँकी र बाजागाजा सहितको ¥याली भृकुटीमण्डपबाट शुरु भई सहिदगेट, शान्ति बाटिका हँुदै कार्यक्रम स्थलमा आएर समापन भएको थियो ।

कर्णालीको मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा आयोजित कर्णाली बृहत् सांस्कृतिक उत्सवको ऊजामन्त्री महेन्द्रबहादुर शाहीले उदघाटन गरेका थिए ।

कर्णाली समाजका उपाध्यक्ष उपेन्द्रजंग शाहीले कर्णालीको संस्कृतिबारे कर्णालीसहित अन्य क्षेत्रका नागरिकलाई पहिचान गरी कर्णाली भौगोलिकरुपमा विकट भए पनि कला, संस्कृति र प्राकृतिक स्रोत साधनमा धनी छ भन्ने उदाहरण प्रस्तुत गर्न राजधानीमा उत्सव गरिएको बताए ।

कर्णाली समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजित उत्सवमा मन्त्री शाहीले देशलाई समृद्ध बनाउन संस्कृति र प्राकृतिक स्रोतको धनी कर्णालीको विकास अपरिहार्य भएको बताए । उनले कर्णालीका कला र संस्कृतिमा धनी भए पनि त्यसको संरक्षणमा ध्यान नदिँदा युवा पुस्ताले वेवास्ता गरेको बताए ।

 

प्रतिकृया दिनुहोस