राजपाले तोक्यो सबै स्थानीय तहको उम्मेदवार

Ra ja pa

काठमाडौं । लामो समयसम्म निर्वाचनमा भाग नदिने बताउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवार चयन प्रक्रिया सकेको छ ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ ।

राजपाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको छ । राजपाले छनोट गरेका महानगरपालिका, उपमहानगरपालिका र मुख्य नगरपालिकाको उम्मेदवारमा क्रमशः पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुखमा राजेशमान सिंहलाई उठाएको छ भने उपप्रमुखमा उम्मेदवार छैन ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लालकिशोर साह र उपप्रमुखमा रिता झा र बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा जयप्रकाशप्रसाद शाह र उपप्रमुखमा पिंकी यादवलाई उम्मेद्वार बनाएको छ ।

राजपाले सप्तरीको राजविराज नगरपालिका प्रमुखमा शम्भु यादव र उपप्रमुखमा साधना झा, सिरहाको लाहान नगरपालिका प्रमुखमा डा महादेव साह र उपप्रमुखमा भारतीय गुप्तालाई उम्मेदवार बनाएको छ । महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा रामशेखर मिश्र, उपप्रमुखमा मुन्चुनदेवी महतो, सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुखमा नागेश्वर राय र उपप्रमुखमा शमा आरा र रौतहटको गौर नगरपालिका प्रमुखमा जयकुमार गुप्ता, उपप्रमुखमा किरण ठाकुरलाई उम्मेदवार बनाएको राजपाले जनाएको छ ।
पार्टीभित्र धेरै क्षमतावान्, सक्षम र योग्य व्यक्ति भए पनि सबैलाई स्थानीय तहको प्रमुख उपप्रमुखमा जिम्मेवारी दिन नसकिए पनि योग्य नेताहरुलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिम्मेवारी दिने अध्यक्ष महन्थ ठाकुरले बताए ।

प्रतिकृया दिनुहोस