उपत्यकासहित यसरी धुमधामसँग मनाइयो गौरा पर्व

Gaura parba 5

काठमाडौँ । सुदूरपश्चिमसहित मध्यपश्चिमका पहाडी जिल्लाहरुमा मंगलबार गौरा पर्व धुमधामका साथ मनाइएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाको भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न (गहुँ, केराउ, गहत, मास र गुरौस) भिजाएर पर्वको थालनी गर्दछन् ।

दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । धानको बाली, कुश र फलफूलको हाँगा बेरेर शिव–पार्वतीको मूर्ति बनाइन्छ र बाहिरबाट कपडाले ढाकेर बेहुली जस्तै सिँगारिन्छ । त्यही नै गौरा हो, गौराको प्रतीक हो ।

प्राचीन हैहयावंशी राजा मध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।

धार्मिक मान्यताअनुसार पौराणिक कालमा पार्वतीले निराहार व्रत बसी नित्य आराधना गरी भगवान शिवलाई वरको रुपमा प्राप्त गरेको किम्बदन्ती छ। त्यसैको सम्झनामा शिव–पार्वतीको पूजा आजा गर्दै देउडा खेलेर यो पर्व मनाउने गरिन्छ ।

गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्र नभएर सामाजिक विकृति विरूद्ध पनि देउडाका माध्यमले तिखो व्यंग्य गर्ने गरिन्छ ।

यस अवसरमा आफ्ना सुख–दुख देउडाका माध्यमबाट व्यक्त गरिन्छ । गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष र महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भइ स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । देउडा गीतका माध्यमबाट एक अर्कामा सुख–दुख तथा माया–प्रेम बाँड्ने गरिन्छ। गौरा पर्वलाई एकताको पर्वको रुपमा लिने गरिन्छ ।

प्रतिकृया दिनुहोस