एमाले कार्यकर्ता भेलामा राजपा कार्यकर्ताद्वारा ढुंगा प्रहार

मधेस बिरोधी भन्दै बरिष्ठ नेता माधवकुमारलार्इ देखाइयाे कालो झण्डा

Madhav nepal janakpur

जनकपुर । प्रदेश नम्बर-२ को अगुवा कार्यकर्ता भेलामा एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालो झण्डा देखाएर बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जनकपुर भ्रमणको बिरोध गरेका छन् ।

एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । भेला सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् ।

 

एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए । नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ-दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेकाे कार्यकर्ता भेला मै ढुंगा प्रहार गरेका थिए ।

उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार-पाँच जनाले कालो झण्डा देखाएर एमालेबिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।

कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् । २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस