प्रम देउवा नेपाल फिर्ता, भ्रमण सफल भएको दावी

Sher bahadur deuwa 1

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारत भ्रमण सफल भएर्को दाबी पनि गरे ।


दिल्लीमा उनले फेरि संविधान संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ । सत्ता साझेदार दलले समेत आलोचना गरिरहेको बेला उनकै पार्टी नेपाली कांग्रेसले भने उक्त अभिव्यक्तिमा ‘रणनीतिक’ महत्व रहेको दाबी गरेको छ ।

देउवाले भारत भ्रमणको क्रममा राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गरेका थिए । मोदीसँग भेटवार्ता भएपछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यसमध्ये चार बुँदा भूकम्पपछिको पुनर्निर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन् । एउटा सम्झौता ५० हजार घर पुनर्निर्माणसँग सम्बन्धित छ । भूकम्प प्रभावित क्षेत्रको शिक्षा र साँस्कृतिक सम्पदा पुनर्निर्माणबारे पनि समझदारी भएको छ ।

यसैगरी रक्सौल-परवानीपुर र कुशाहा-कटैया अन्तरदेशीय प्रसारण लाइनको पनि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यससँगै आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ । ती अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले भारतबाट थप ५०-५० मेगावाट विद्युत् आयात गर्नेछ ।

प्रतिकृया दिनुहोस