विपी राजमार्ग अवरुद्ध ,मोटरसाइकल र बोलेरो जिप जुध्दा एकको मृत्यु

सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ ।

पिकअप सिङ्गल क्याप बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्कीदा सुनकोशी गाउँपालिका ५ निवासी अन्दाजी ३८ वर्षीय मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि खुर्कोटस्थित भरोसा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वा १४ च २४९३ नं को बोलेरोले श्रेष्ठ सवार वा ३५ प ९३२२ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरो चालकलाई खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोहीघटनालाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा साना सवारीसाधनले पटक पटक पैदलयात्री तथा मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको उनीहरुले बताएका छन् ।

स्थानीयवासीले मृतकको शवलाई राजमार्गमा राखेर सवारी चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेको यात्रु रामबहादुर विश्वकर्माले जानकारी दिए । अवरुद्ध राजमार्ग सञ्चालन गर्न प्रहरी तथा प्रशासनले उचित पहल नगरेको यात्रुहरुले बताएका छन् ।

राजमार्ग अबरुद्ध भएपछि सिन्धुली हँदै काठमाडौं र पूर्वी पहाडी जिल्ला तथा तराईका जिल्लाका लागि छुटेका सवारीसाधन बीचमा नै रोकिएका छन् ।

प्रतिकृया दिनुहोस