तीज गुरुकुल निर्माणका लागि महायज्ञको चटारो

काठमाडौँ। हिन्दू नारी तीजको व्रत र नाचगानमा रमाइरहेका बेला योगिनी श्रीहम् वृन्दा बराल निरौला कन्या गुरुकुल योगसाधना केन्द्र तथा निरास्रित महिला एवं बाल आश्रम निर्माण अभियानमा जुटेका छन् ।

आश्रम निर्माणमा सहयोगार्थ वृन्दा आफैँ प्रमुख वाचक भई शनिबारबाट पशुपति क्षेत्रमा शुरु हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका लागि काठमाडौँ आएकी हुन् ।

दिव्यपथ महिला सरोकार समाज दर्ता गरी योगिनी बरालले शिवसताक्षी नगरपालिका वडा नं १० माईधारमा प्रतिकट्ठा रु ११ लाखमा चार कट्ठा जग्गा खरिदका लागि आफ्नो निजी जग्गा बेचेर बैना गरिसकेकी छन् । उनले उक्त केन्द्रमा सकेसम्म निःशुल्क र महिलालाई मात्र सेवा दिइने लक्ष्य रहेको बताईन् ।

स्वामी डा योगी विकासानन्दसँग पाँच वर्ष ‘नेतृत्व विकास तथा आत्मरुपान्तरण कार्यक्रम’ को कोर्स पूरा गरेर्की बराललाई डा योगीले योगिनी श्रीहम्को उपाधि दिए । कुण्डलिनी साधानाको विदुषी चक्रको मूल मन्त्र मानिने श्रीहम् उक्त चक्र पूरा गरेपछि दिइन्छ । उनको साहित्यिक नाम वृन्दावनी हो ।

औपचारिकरुपमा संस्कृतको अध्ययन नगरे पनि उनले विराटनगरमा आचार्य कृष्णको घरमै एक वर्ष अध्ययन गरेर पुराण वाचक हुन सफल भएका थिए । पहिलो पटक उनले २०६९ साल मङ्सिरमा झापामा कोटीहोम लगएका थिए ।

साधनाकै क्रममा योगिनी श्रीहम्ले २०६२ साल पुसमा ललितपुरको गोदावरीमा सात दिन सात रात र २०६६ साल चैतमा ताप्लेजुङको थेचम्बूमा नौ दिन नौ रात खाल्डोमुनि बसेर सफल भूतपस्या गरेकी थिईन् भने २०६७ साल वैशाखदेखि छ महिनासम्म गोदावरी जंगलमा मौन साधना गरेकी थिईन्।

प्रतिकृया दिनुहोस