गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात

गोरखा। सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका हुन् ।

कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्रीलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न जडीबुटी कच्चापदार्थ प्रयोग गरी विभिन्न रोग विरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी दिए ।

अधिकांश औषधि, चिया युरोपका विभिन्न देशमा निर्यात हुन्छ । तुलसी चिया, गुडुची चिया, हर्बल चियालगायत चिया युरोपमा निर्यात हुने गरेको अर्यालले बताए । यहाँका वनजंगलमा पाइने जडीबुटीले उद्योग सञ्चालन भइरहेको छ ।

धादिङ, तनहुँ, लम्जुङ, चितवनलगायत जिल्लाबाट समेत कच्चापदार्थ ल्याइने गरिन्छ । जटामसी, कुड्की, चिराइतो, हर्रो, बर्रो, अमला, गुर्जो, घोरताप्रे, तेजपात, रुद्राक्ष, सिमली, असुरो, सर्पगन्धालगायत कच्चापदार्थ कम्पनीले खरिद गरी विभिन्न औषधि बनाउने गर्छ । सामुदायिक वन समूहको समन्वयमा जडीबुटी कम्पनीसम्म आइपुग्छ ।

निमपत्ता, टाँकीका पात र बोक्रा पनि औषधि बनाउन प्रयोग गरिन्छ । मरिच, सुकमेललगायत कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । जिल्लामै पाइने कच्चापदार्थले प्रायः उद्योगको माग धान्ने गरेको अर्यालले बताउए । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीमा २७ जनाले रोजगारी पाएका छन् ।

कम्पनीका कविराज जीवन रेग्मी ग्यास्टिक रोगविरुद्ध खाने चूर्ण अइरपत्तिकर, पायल्स रोगविरुद्धको पिलारिन, उच्चरक्तचाप घटाउने केन्सारिनलगायत औषधिको बजारमा माग बढेपछि कम्पनीले उत्पादन बढाएको बताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस