खाद्यान्न जुटाउन तिव्वत जाने तयारीमा उत्तरी गोरखावासी

एक महिनाभित्र वर्षभरी पुग्ने खाद्यान्न जोहो गर्नुपर्ने वाध्यता

Tibbat

गोरखा । दैनिक उपभोग्य सामान किनमेलका लागि उत्तरी गोरखावासी तिव्वत जाने तयारीमा जुटेका छन् ।

वर्षमा एक महिनाका लागि मात्र खोलिने तिव्वत नाका खुल्ने सयम नजिकिएसँगै उनीहरु तिव्वत जाने तयारीमा जुटेका हुन् ।
अहिले स्थानीयहरु पैसासँगै, चौरी, याक, खच्चड लगायतका वस्तुहरुको जोहो गर्न थालेको सामागाउँका मिङमार लामाले बताए ।

वर्षमा एक पटक मात्र नाका खुल्छ, त्यही वेला वर्ष भरिलाई पुग्ने खानेकुरादेखि आवश्यक सबै सामग्री ल्याउनुपर्छ ।’ उनले भने ।

उत्तरी गोरखाको साविकका ६ गाविसहरुको मुख्य व्यापारिक केन्द्र तिव्वत हो । घरमा आवश्यक पर्ने नुनदेखि सुनसम्म किनमेल गर्न उनीहरु तिव्वत जाने गर्छन् ।

गोरखा सदरमुकाम आउन करिव चार पाँच दिनको पैदल हिड्नु पर्ने भएपनि तिव्वत पुग्न करिव दुई दिन मात्र लाग्ने भएकाले किनमेलका लागि स्थानीयहरु तिव्वत जाने गर्छन् ।

आलु, मकै, गौ लगायतका खाद्यान्नहरु खेती हुने भएपनि उत्पादनले तीन महिनालाई पनि खान नपुग्ने स्थानीयहरु बताउँछन् ।

जसका कारण खाद्यान्न पनि तिव्वतबाटै किनेर ल्याउनुपर्ने उनीहरुको भनाइ छ । उक्त क्षेत्रका स्थानीयहरुलाइ किनमेल गर्नका लागि वर्षेनी एक महिनाको लागि नाका खुल्ने गर्छ । ‘

यही भदौ ५ गतेबाट नाका खुल्ने भनेको थियो, फेरि के भएर हो भदौ ९ गतेबाट खुल्ने भनेको छ,’ सामागाउँका लामाले भने महिना अवधिभर उनीहरु सामान किनमेल सँगै ओसारपसारमा व्यस्त हुन्छन् ।

सामागाउँबाट तिव्वत पुग्न दुइ दिन लाग्छ, र्फकन दुइ दिन अनि एक दिन किनमेल गर्न लाग्छ, एक पटक सामान लिन जादा करिव ६ दिन खर्च हुन्छ,’ लामाले भने, ‘फेरी एक पटकमा आवश्यक सबै सामान ल्याउन सकिदैन ।

अधिकांश स्थानीयहरु सामान किनमेलका लागी रुइला नाका जाने गर्छन् । त्यस्तै घ्याला नाकामा पनि किनमेलका लागी स्थानीयहरु जाने गरेका छन् ।

नाकाको ज्याङ भन्ने ठाउँमा दुधजन्य पदार्थ, औठी, माला, लत्ताकपडा, औठी, घाटीमा लगाउने जिरु लगायतका सामानहरु किन्न उत्तरी गोरखाका स्थानीयहरु पुग्ने गर्छन् ।

चुम नाका बाह्रै महिना खुल्ने भएपनि सामागाउँको नाका वर्षमा एक महिना मात्र खुल्दा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘वर्षमा एक महिना मात्र खुल्छ, त्यो समयमा एक वर्षसम्म पुग्ने खाद्यान्न र सरसामाना जोहो गर्नुपर्छ, समस्या हुन्छ,’ लामाले भने ।

वर्षको बाह्रै महिना नाका खुल्ला गरिदिन स्थानीयहरुले माग गरेका छन् । बाह्रै महिना नाका खुल्ला भए चाहेको बेला सामान लिन जान सहज हुने स्थानीयहरुको भनाइ छ । एकै पटक सबै सामान किन्न पैसा समेत नहुने उनीहरुको गुनासो छ ।

उत्तरी गोरखाको सामागाउँ, बिही, प्रोक, छाक, लि, सो, ल्हो, साम्दो लगायत अन्य ठाउँका स्थानीयहरुको व्यापारिक केन्ऽ तिव्वत हो ।

नाका खुलेको बेला स्थानीयहरु घोडा, चौरी, खच्चड लिएर तिव्वत जान्छन् । दुइ बर्ष अघि एउटा जनावारको तीस रुपैयाँ कर तिर्नुपर्ने भएपनि अहिले तिर्नुनपर्ने स्थानीय लामाले जानकारी दिए ।

गोरखा जिल्लामा दुई नाका धेरै वर्ष अगाडिदेखि सन्चालनमा छन् । सामागाउँ र छेकम्पार दुई स्थानमा रहेको नाका ५ हजारभन्दा बढी उचाइमा रहेको छ ।

हिउँ परेको समयमा मानिसहरुको आवागमन बन्द हुन्छ । तर, नाका खुलेपछि सर्वसाधारण एकै पटक हिउँद भरिलाई पुग्ने सामग्री लिन पैदल तिब्बत जाने गर्छन ।

सदरमुकाम गोरखाबाट आरुघाटसम्म सडक विस्तार भए पनि नाका पुग्न ७ दिनको पैदल यात्रा गर्नुपर्छ । सामागाउँ नाका लमजुङ र मनाङतर्फ पर्छ भने छेकम्पार नाका धादिङ र रसुवा तर्फको सिमानामा पर्दछ ।

सामागाउँ सदरमुकाम गोरखाबाट ५२ कोस अर्थात १७१।६० किलोमिटर टाढा पर्दछ भने छेकम्पार ५० कोस अर्थात १६५ किलोमिटर दुरीमा पर्दछ । अहिले ती नाकाबाट ल्याएको सामान गोरखा जिल्लाका हिमालपारीका साविकका ६ गाविसले उपभोग गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस