गणतन्त्रपछिकै ठूलो मन्त्रिपरिषद् : रेकर्ड देउवाकै

काठमाडौं । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ ।

३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट एक–एकजना उपप्रधानसहित मन्त्री बनेका छन् । 

देउवाले २३ जेठमा निर्वाचित भएपछि शपथ लिएकै दिन २४ जेठमा सात मन्त्री चयन गरेका थिए । १५ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको बहानामा देउवाले दोस्रोपटक सरकार विस्तार गर्न ४९ दिन लगाएका थिए । ११ साउनमा सरकार विस्तार हुँदा १९ मन्त्री थपिएका थिए । तीन दिनअघि माओवादी केन्द्रबाट आठ राज्यमन्त्री थपिएका थिए । मंगलबार चौथोपटकमा कांग्रेस र लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री थपिएका हुन् ।

रेकर्ड देउवाकै नाममा ०५२ सालमा ५२ मन्त्री
यसअघि ०५२ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५२ सदस्यीय थियो । २२ वर्षपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्दा देउवा पुरानो रेकर्डनजिक पुगेका छन् । प्रधानमन्त्रीसँग बाँकी भएका चार मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवाले आफ्नै रेकर्ड तोड्नेछन् ।

०६२/६३ को दोस्रो जनआन्दोलनपछि र गणतन्त्र आएपछि बनेका सरकारमध्ये अहिलेको ५० सदस्यीय मन्त्रिपरिषद् सबैभन्दा ठूलो आकारको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् ४९ सदस्यीय र माधव नेपाल प्रधानमन्त्री हुँदा ४८ सदस्यीय थियो ।

प्रधानमन्त्रीसँग अझै शान्ति तथा पुनर्निर्माण, वन, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी छन् । यी मन्त्रालयमा पनि मन्त्री थपिँदा मन्त्रिपरिषद्को आकार ५४ पुग्नेछ । यस्तो अवस्थामा सरकार इतिहासकै ठूलो आकारको हुनेछ ।

यी हुन् मंगलबार थपिएका १५ राज्यमन्त्री
कांग्रेसबाट बनेका राज्यमन्त्री
१. सीता गुरुङ -भौतिक पूर्वाधार तथा यातायात 
२. सरिता प्रसाईं -कृषि विकास
३. शेषनाथ अधिकारी -शिक्षा
४. नरबहादुर चन्द -वाणिज्य 
५. अब्दुल रज्जाक -खानेपानी
६. तप्तबहादुर विष्ट -सूचना तथा सञ्चार
७. अमरसिंह पुन -सिँचाइ
८. दिलमान पाख्रिन -कानुन, न्याय तथा संसदीय मामिला
९. उदयशमशेर राणा -अर्थ
१०. डिल्लीबहादुर चौधरी -श्रम तथा रोजगार
११. तेजुलाल चौधरी -युवा तथा खेलकुद-
१२. चम्पादेवी खड्का -सहकारी तथा गरिबी निवारण

फोरम लोकतान्त्रिकबाट
१३. जनकराज चौधरी -संघीय मामिला तथा स्थानीय विकास,
१४. सुमित्रा थरुनी -संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
१५. यशोदाकुमारी लामा -भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार नै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराए । शपथपछि देउवाले मन्त्रीहरूलाई सहयोग पुग्ने गरी काम गर्न राज्यमन्त्रीहरूलाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...