तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान

Capture 3

महोत्तरी । गौशाला नगगरपालिका– १२ साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् ।

केहीवर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास पाउनुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजारौँ रुपैयाँ कमाउन सफल भएका हुन् ।

कम्पोस्ट मलको सट्टामा प्रांगारिक मल, कीटनाशक सट्टामा स्थानीयस्तरमा पाइने जडीबुटीलाई मिश्रित घोल बनाएर खेतमा छर्किंदा कम लगानीमै बढी उत्पादन गर्नमा सफल भएको महतोले जानकारी दिए ।

विभिन्न किसिमका तालिमबाट प्राप्त भएको ज्ञानको आधारमा बीउ संरक्षण, खेती गर्ने, कीटनाशकबाट जोगाउने, बजार व्यवस्थापनलगायतका विधि प्रयोग गरी मनग्य आम्दानी गर्न सफल भएको गृहणी सुनिता कुमारीले बताइन् ।

स्थानीयस्तरमै कृषक समूह बनाएर तरकारीखेती गर्न थालेपछि वर्तमान समयमा जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको आकर्षक प्याकेजलगायतका कृषि सामग्री अनुदानस्वरुप प्राप्त हुन थालेको उनले जानकारी दिए ।

स्थानीयस्तरमा उचित बजारको व्यवस्था नभएकाले महोत्तरीको गौशाला, सर्लाहीको लालबन्दी, धनुषाको ढल्केवरमा गएर बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान सन्तलाल महतोले बताए ।

टिपर र मोटरसाइकलमा लोड गरेर एकैपटक एउटै बजारमा बिक्री गर्दा व्यापारीले उचित मूल्य दिन हिच्काउँदै आएको महतोले गुनासो गरे ।

स्थानीयस्तरमा रहेको संस्थाबाट कुनै किसिमको सहयोग नपाए पनि जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको सहयोग प्राप्त हुँदै आएको शिवशक्ति मिश्रित बहुउद्देश्य सहकारी समूहको अध्यक्षसमेत रहनुभएका महतोले जानकारी दिए ।

प्रत्यक्ष रुपमा तीन सय घरपरिवार कृषि पेशामा संलग्न रहेको सो गाँउ पछिल्लो समयमा हरियो सागपातको गाउँ भनेर जिल्लामै परिचित हुनथालेका छन् ।

त्यहाँका किसानलाई सिंचाइको व्यवस्था, रासायनिक मलको सट्टामा कम्पोस्ट मलको प्रयोग विधि, विषादीको सट्टामा एकीकृत शत्रुजीव व्यवस्थापन, तरकारीमा लागेको रोग कीराको नियन्त्रण र बजार व्यवस्थापन सम्बन्धी तालीम दिँदै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।

‘मेहनत गरे माटोमै पनि सुन फल्छ’ भन्ने उदाहरणलाई महोत्तरी गौशाला नगरपालिका– १२ लक्ष्मिनियाँका किसानले सावित गरेको उनले बताए ।

सो स्थानका किसानले दैनिक ५० हजारदेखि २ लाख मूल्य बराबरका तरकारी उत्पादन हुने गरेका छन् । गतवर्ष जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा ६ लाख ६९ हजारको लागतमा तरकारी संकलन केन्द्र पनि सो स्थानमा स्थापना भएको छ ।

प्रतिकृया दिनुहोस