बिमस्टेक विदेशमन्त्रीस्तरीय १५ औं बैठक सम्पन्न

Bimstek

काठमाडौं । हिजोदेखि शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीस्तरीय १५ औं बैठक सम्पन्न भएको छ।

बिमस्टेक सदस्य राष्ट्रहरूबीच खुला व्यापार प्रवर्द्धन गर्न उद्धेश्यले  तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता यथाशिघ्र सम्पन्न गर्ने, ग्रिड इन्टरकनेक्सन स्थापना गर्ने सम्झौतामा यथाशिघ्र हस्ताक्षर गर्ने, सदस्यराष्ट्रहरूवीच प्रविधि हस्तान्तरण गर्ने सम्बन्धी सम्झौता र सदस्यराष्ट्रहरूबीच व्यापार सहजिकरण गर्ने, मोटर पारवहन लगायतका सम्झौतालाई यथाशिघ्र अन्तिम रूप दिने निर्णय बैठकले गरेको छ।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरु नेपाल लगायत बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्र र विदेशमन्त्री एवं विदेश राज्यमन्त्रीहरु सहभागी थिए। बैठकले आठ वटा निर्णय गरेको परराष्ट्र तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

त्यस्तै, आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धीमा हस्ताक्षर र अनुमोदन गर्ने, सन् २०१२ मा काठमाडौंमा सम्पन्न भएको बिमस्टेक सदस्य राष्ट्रहरूका गरिबी निवारण मन्त्रीस्तरीय बैठकले पारित गरेको गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन स्थापना गरिने भनिएका बिमस्टेक केन्द्र (उर्जा,वातावरण र संस्कृति) लाई यथाशिघ्र स्थापना गरी काम संचालन गर्ने र बिमस्टेकको भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रबुद्ध समूह यथाशिघ्र गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्री महराले सन् २०१८ बिमस्टेक शिखर सम्मेलन नेपालले आयोजना गर्ने बताए। ‘चुनावका कारणले अहिले मिति नतोकिएको हो, सबै सदस्य राष्ट्रको सल्लाहमा सन् २०१८को शुरुमै शिखर सम्मेलन नेपालले आयोजना गर्छु, महराले भने।

प्रतिकृया दिनुहोस