खोलामा पुल नहुँदा मनाङबासीलाई सास्ती

Manang

मनाङ, । नेस्याङ गाउँपालिकाको पिसाङ खोलामा पुल नहुँदा सवारीसाधन आवात जावतमा मनाङबासीले सधैँ सास्ती भोग्नु परेको छ ।

हिउँदको बेलामा खोला घटेर बाटो सहज भए तापनि बर्खामा खोलामा भेल आउने हुँदा सवारीसाधन ओहोर दोहोर गर्न बाधा पुग्नेगरेको छ ।

मनाङको बाटो आफैँमा कठिन छ, त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नु परेको छ ।

हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेसीशहरबाट मनाङ आउने र मनाङबाट बेसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको छ ।

कहिले खोला घट्ला भनी खोलाको किनारमा सवारी चालकहरु अलपत्र परेका हुन्छन् । कहिले ट्र्याक्टरको सहायतामा गाडी निकाल्छन् त कहिले पानी परेर चिसो भई हिउँ जमेर खोला सुक्ने पर्खाइमा रहन्छन् ।

नेपालकै महत्वपूर्ण पर्यटन क्षेत्रमा सहजै आवतजावत गर्न सक्ने बाटो नहुँदा ज्यादै कठिन यात्रा गर्न बाध्य छन् यहाँ आउने पर्यटक । यस्तो सास्ती कहिलेसम्म भोग्ने यहाँका जनता र पर्यटकले, स्थानीयबासीले प्रश्न गरेका छन् ।

प्रतिकृया दिनुहोस