‘आरनमा कविता’ को पाँचौ शृंखलामा गुन्जिए २० कविता

Unmukta pusta

काठमाडौं । उन्मुक्त पुस्ताले गर्दै आएको ‘आरनमा कविता’ को पाँचौ शृंखलामा दुई कविले २० वटा कविता वाचन गरेका छन् ।

मंगलबार मण्डला थिएटरमा भएको ‘आरनमा कविता’ को पाँचौ शृंखलामा कवि प्रकाश गुरागाईं र हेमप्रभासले २० कविता सुनाए ।

उन्मुक्त पुस्तामा आवद्ध कविहरुले लामो समयदेखि समाजमा रहेका विभेदविरुद्ध कवितामार्फत आन्दोलन गर्दै आएका छन् । यसैक्रममा उन्मुक्त पुस्ताले पछिल्लो चरणमा दुई जना कविका कवितालाई हलमा सुनाउँदै आएको छ । आन्दोलनका प्रारम्भमा उन्मुक्त पुस्ताले सडकमा कवितामार्फत समाजमा रहेका विकृति र विसंगतिको विरोध गर्दै सचेतना जगाउँदै आएको थियो ।

उन्मुक्त पुस्ताको ‘आरनमा कविता’ को पाँचौ शृंखला अन्तर्गत मंगलबार भएको कार्यक्रममा कवि प्रकाश गुरागाईले ‘छोरो नक्सा बनाइरहेछ, हजुरको बुट, बेलुन, वालेट, बुद्ध र बुद्धहरू, भूकम्पको गीत, संविधानको अर्थशास्त्र, खुट्टामा श्रीपेच’ लगायतका १० वटा कविता वाचन गरेका थिए । उनी उन्मुक्त पुस्ताका एक अभियानकर्ता पनि हुन् ।

त्यसैगरी अर्का कवि हेमप्रभासले ‘नयाँ शताब्दीको बुढो बालक, देश, तरंगका शृंखला, छोरो मरेको देश, मृत्यु, मेरा बा किसान हुन्, पहाड बोकेर पहाडतिर’ लगायतका १० कविता वाचन गरेका थिए । दुबै कविले आफ्ना कवितामार्फत समाजमा रहेका कलंकलाई त्याग्न आग्रह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस