१३ औँ सागः ५ खेल पोखरामा

553514468873 270x181

पोखरा, । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताए ।

पोखरा रंगशालाको मंगलबार निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए ।

मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा ५–६ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभावजस्ता समस्या भोग्नुपरेको गुनासो गरे ।

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हललगायत संरचना निर्माण भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस