भदौ १ भित्र चुनावको मिति घोषणा गर्नुहोसः निर्वाचन आयोग

Pm dauba with election com

काठमाडौं । निर्वाचन आयोगले आगामी भदौ १ गतेभित्र प्रादेशिक र संघीय चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । साथै दुबै चुनाव एकै चरणमा गर्ने हो भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने आयोगको माग छ ।

आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेका छन् । साथै चुनावका लागि आवश्यक ऐन कानुन पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आउने वातावरण बनाउन आग्रह गरे ।

मंसिर पहिलो साता र ढिलामा दोस्रो साताभित्र दुबै निर्वाचन गरिसक्नु पर्ने निर्वाचन आयोगको जोड छ ।

प्रधानमन्त्री देउवाले चुनावका लागि आवश्यक ऐन कानुन र प्रतिवेदन छिट्टै पाउने बताएका छन् । ‘आयोगले प्रतिवेदन तोकिएकै टाइममा बुझाउँछ, तपाईहरुले पाइहाल्नुहुन्छ,’ देउवाले भनेका छन्, ‘ऐन कानुन पनि संसदमा गइसकेको छ । छिट्टै पास हुन्छ ।’

उनले संसद र प्रदेशको दुबै चुनाव एकै चरणमा गर्न प्रस्ताव गरे । समय पनि भएको र एकै चरणमा गर्दा खर्च पनि कम हुने उनको तर्क छ । साथै देउवाले ऐन कानुन र प्रतिवेदन तयार हुनासाथ चुनावको मिति तोक्ने आश्वासन दिएका छन् ।

निर्वाचन आयोगले यसअघि असोज ३० मा प्रदेश र मंसिर पहिलो साता संघीय चुनाव गर्ने कार्ययोजना बुझाएको थियो । त्यसका लागि असारभित्र ऐन कानुन र साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पाउनु पर्ने आयोगको माग थियो ।

आयोगले अहिलेसम्म न ऐन कानुन पाएको छ, न प्रतिवेदन । प्रदेश र संघको निर्वाचनसम्वन्धी विधेयक संसदीय समितिमा छ भने क्षेत्र निर्धारण आयोगले अहिले काम गरिरहेको छ । आयोगले साउन मसान्त अगाडि प्रतिवेदन बुझाउने सम्भावना छैन ।

अब दुई चरणमा चुनाव गर्ने सम्भावना निकै कम भएको आयोगका पदाधिकारीहरु पनि स्वीकार गर्छन् ।

प्रधानमन्त्री देउवासँगै प्रमुख दलहरु पनि प्रदेश र संघको चुनाव एकैपटक गर्ने पक्षमा देखिएका छन् ।

प्रतिकृया दिनुहोस