चिहानबाटै गहना चोरी

Sab

इलाम, । चिहानमा शवसँगै गाडिएको ४ आनाको मङ्गलसूत्र चोरी भएको छ । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको हो ।

नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो ।

शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिए ।

उनले भने ‘चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको देखियो’ । ‘कानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुनः गाडेको भेटियो ।’

चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ । लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ ।

प्रतिकृया दिनुहोस