भरतपुर महानगरका जनप्रतिनिधिले लिए सपथ

एमालेद्वारा बहिष्कार, एमालेलाई छुट्टै सपथ खुवाइने

Bharat pur

चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । उनीहरुलाई सोमबार अलग्गै शपथ ग्रहण गराउने कार्यक्रम छ ।


महानगरपालिकाको मेयरमा विजयी रेणु दाहाल र उपमेयरमा विजयी पार्वती शाह सहितका जनप्रतिनिधिहरुलाई मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आइतबार शपथ ग्रहण गराए । जिल्ला समन्वय समिति चितवनको सभाहलमा शपथ ग्रहण गराइएको थियो ।

शनिवार मतगणना सम्पन्न भएपछि भरतपुर महानगरले मेयर र उपमेयरसहितका जनप्रतिनिधि पाएको हो । माओवादी(कांग्रेस गठवन्धनका उम्मेदवार रहेकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पराजित गरेर मेयरमा विजयी भएकी थिइन् ।


महानगरका १२ वटा कांग्रेसले र ३ वटा वडा माओवादीले जितेको छ । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको छ । माओवादीले १३, २५ र २६ नम्वर वडा जितेको छ । माओवादीले वडा नम्बर २५ र २६ मा वडाध्यक्ष मात्रै जितेको हो ।

भरतपुर महानगरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । ‘मतपत्र च्यात्ने र तिनकै बलमा निर्वाचित हुने व्यक्तिहरुको लहरमा बसेर सपथ ग्रहण गर्न नसक्ने’ भन्दै एमालेले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको जनाएको छ ।

एमालेका पूर्व सचिव एवम् वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले भने, ‘अस्वाभाविक र अप्राकृतिक ढंगले जित्नेलाई हराउने र हार्नेलाई जिताउने काम गरिएकाले उनीहरुसँगै बसेर शपथ नलिने निर्णय गर्‍यौं ।’

एमालेका निर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार बिहान अलग्गै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

एमालेका तर्फबाट वडाध्यक्ष र सदस्यहरुको नेतृत्व भण्डारीले गर्ने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै भण्डारीले भने, ‘एमालेलाई अण्डरइष्टिमेट गर्ने, पेलेर जाने नीति अख्तियार गरे सोही रुपमा प्रस्तुत हुन्छौं ।’

भरतपुर महानगरपालिकामा एमालेबाट ७० जना निर्वाचित जनप्रतिनिधि छन् । भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको छ । महानगरका वडा नम्बर २, ४, ५, ७, ९, १०, ११,१२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको छ ।

प्रतिकृया दिनुहोस