अविरल वर्षाले गाउँ नै विस्थापित हुने अवस्थामा,

बाँच्नको लागि छिमेकीकोमा आश्रय

Pahiro bajura

बाजुरा,। अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेपछि गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको हो ।

१५ वर्ष देखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेको स्थानीयवासी खड्कराज जोशीले बताए ।

उनका अनुसार लगातारको पानीले गाउँको १ सय ३० घर परिवारलाई अन्यत्र बास बस्नुपर्ने बाध्यता छ । बजेडीमा घरको तलपट्टि र माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासी झन् त्रसित बनेका हुन् ।

गाउँमा रहेका थालामेल, नाउली र दलित बस्तीका ५६ जनाको घर पानी र पहिराका कारणले भत्किएको स्थानीयवासी किट्टो ल्वारले बताए ।

छपन्न घरपरिवारमध्ये १४ परिवार बढी जोखिममा रहेको बताइएको छ । गाउँमा नयाँ सडक निर्माण भएसँगै पहिरो जान थालेपछि स्थानीयवासी अझै त्रसित भएका हुन् ।

घर माथिबाट पहिरो आउने सम्भावना भएपछि बजेडीका बासिन्दा राति जाग्रामै बस्ने गरेका छन् । पानी पर्दा नजिकैको विद्यालयमा जाने भए पनि हावाहुरीका कारणले विद्यालयको छाना उडाएपछि राति छाता ओढेर बस्ने गरेको स्थानीयवासी दयाराम जोशीले बताए ।

पहिराले खेतीयोग्य जमिन बगाएको छ । पहिरोले बजेडीमा ५ हजार हेक्टरको जमिन क्षतविक्षत पारेको छ । पहिराले गाईगोरु, भैँसी चराउने वनसमेत छैन । सामुदायिक वन र कबुलियती वन बनाएपछि स्थानीयवासी घरमै गाईगोरु र भैँसी पाल्न बाध्य भएका छन् ।

छिमेकीमा आश्रय

लगातारको वर्षाले डिलाशैनी गाउँपालिकाको बांगाबगर, दोगडाकेदार गाउँपालिकाको सित्तड, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्रमा पहिराको जोखिम बढेको छ ।

ती ठाउँमा पहिलादेखि नै पहिराको प्रकोप रहेको र लगातारको बर्षाले झन् जोखिम बढाएको स्थानीयवासीले बताएका छन् । लगातारको वर्षाले दोगडाकेदार–६ सित्तडको डोलमा पहिराको जोखिम झन् बढेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए ।

यस्तै बांगाबगरका बासिन्दालाई वर्षाले चिन्तित तुल्याएको छ । लगातार वर्षा भएपछि पहिराको डरले रातभरि सुत्न समेत नपाएको स्थानीयवासी महेश सार्कीले बताए ।

उता तल्लोसोराडको विशालपुरमा पनि पहिरोको जोखिम बढेको स्थानीयबासीले बताएका छन् । लगातारको बर्षासंगै प्रत्येक बर्ष खस्ने पहिरो यो बर्ष पनि खस्न थालेको स्थानीयबासीले बताएका छन् ।

लगातारको बर्षाले बांगाबगर क्षेत्रका बासिन्दा त्रसित बनेका स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए । पहिराका कारण सित्तडको डोलमा स्थानीवासीका घर र विद्यालय जोखिममा छन् ।

लामो समयदेखि पहिराको समस्या खेप्दै आए पनि आफूहरुको उचित व्यवस्थापन हुन नसकेको पहिरोपीडितले गुनासो गरेका छन् ।
सित्तडको डोलमा आएको पहिराले स्थानीयवासी विश्राम भुलको घर जोखिममा परेको छ ।

घरको आँगन पहिराले लगेपछि घर पहिराको जोखिममा परेको भुलले बताए । लगातारको वर्षाले डिलाशैनी–५ नगराउँका धनी नाथको तीनतले घर भत्किएको स्थानीयवासी गणेशदत्त भट्टले जानकारी दिए ।

घर भत्केपछि नाथ परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेको छ । पहिराको जोखिम भएका ठाउँमा सतर्क भएर बस्न जिल्ला दैवीप्रकोप उद्धार समितिले सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस