हजार रुपैयाँ पकाएपछि ३८० सांसद सदनबाट बेपत्ता

Timthumb

काठमाडौं । आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए ।

हाजिर गरेर ३८० सांसद बेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेबापत एक हजार रुपियाँ भत्ता पाउँछन् ।


गणपुरक सङ्ख्या नपुग्दा संवैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् । सांसदहरू हाजिर गरेर फर्किएपछि महत्वपूर्ण विधेयक पारित भएनन् । शुक्रबार मधेसी आयोग, मुस्लिम आयोग तथा थारू आयोग गठनसम्बन्धी विधेयक पारितको कार्यसूची थियो । यस्तै अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी विधेयक पनि पारितको कार्यसूची थियो । तर, गणपुरक सङ्ख्या नपुगेपछि विधेयक पारित प्रक्रियामा सदन प्रवेश गर्न सकेन ।

जातीय भेदभाव तथा छुवाछुत कसुर विधेयक संशोधन दर्ताका लागि अनुमोदनका क्रममा गणपुरक सङ्ख्याको प्रश्न उठाइएको थियो । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले गणपुरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । काफ्लेको मागपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएकी थिइन् । जनाउ घन्टीपछि सङ्ख्या यकिन गर्दा ९७ मात्र सांसदको उपस्थिति रहेको हो ।

संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा एक चौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ । हाल संसद्मा ५०२ सांसद छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस