नौ महिनादेखि ताथलीमा पानीको हाहाकार

Water

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले नौ महिनादेखि २ सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

ताथलीको वासुकी मुहानबाट ल्याइएको खानेपानी फैढोका पण्डित टोलमा निर्माण भएको आठ घनमिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण हुँदै आएको थियो । तर, ट्याङ्कीकै आसपास माटो उत्खनन्का कारण ट्याङ्की भत्किने अवस्थामा पुगेकाले पानी वितरणमा समस्या भएको हो ।

स्थानीय पण्डित टोलका बासिन्दाले माटो उत्खनन्सँगै खानेपानीको पाइपसमेत काटिदिएपछि पानीको हाहाकार भएको बताएका छन् । स्थानीय मदन पण्डितले मुहानबाटै पानी नआएको र ट्याङ्कीमा पानी जम्मा नहुँदा यहाँका २०० भन्दा बढी घरपरिवारले नौ महिनादेखि खानेपानीबाट वञ्चित हुनुपरेको बताए ।

स्थानीयवासीले करिब सात किलोमिटर टाढा वासुकी मुहानबाट ल्याएको पानी माटो तस्करीका कारण अहिले प्रयोग गर्न नपाएको यहाँका बासिन्दाको गुनासो छ ।

स्थानीय फैढोका बस्ने माया बुढाथोकीले खानेपानीबाट वञ्चित हुनुपर्दा कुवा र इनारको भर पर्नुपरेको बताए । उनका अनुसार फैढोका खानेपानी उपभोक्ता समितिले बेवास्ताका कारण पनि पानी खान नपाएा हुन् ।

स्थानीय केदार बुढाथोकी, भुवन बुढाथोकी, रामचन्द्र खत्रीलगायतका जग्गा धनीले विगत नौ महिनादेखि अवैध रुपमा माटो उत्खनन् गरेर इँटाभट्टा बिक्री गरेपछि खानेपानी ट्याङ्की धरापमा परेको स्थानीयवासीको भनाइ छ ।

माटो उत्खनन् गर्दा टापुमा रहेको पानी ट्याङ्की मात्रै बाँकी रहेको र त्यहाँ पानी जम्मा गर्दा ट्याङ्की नै भत्किने अवस्थामा पुगेको र माटो उत्खनन् गर्दा पानीको पाइपसमेत काटिएको छ । जिल्ला विकास समितिले विगत दुई वर्षदेखि माटो, बालुवा लगायतका खानी उत्खनन् एवम् बिक्री वितरणमा रोक लगाए पनि आर्थिक प्रलोभनकै कारण जिविस, प्रहरी र प्रशासनको मिलेमतोमा नियमित रुपमा माटो उत्खनन् गरी इँट्टभट्टालाई बिक्री गर्दै आएको उनीहरुकोे आरोप छ ।

पण्डित टोल, फैढोका, लामिडाँडा र साखकर्मी टोलका बासिन्दा खानेपानी उपभोग गर्नबाट वञ्चित भएपछि पानी किनेर जीवन गुजारा गर्नुपरेको स्थानीयवासी रीता केसीले बताइन् । स्थानीयवासीले प्रहरी, प्रशासनलाई माटो उत्खनन् रोक्न र ट्याङ्कीको संरक्षण गरी खानेपानी वितरण गरिदिन पटक÷पटक अनुरोध गर्दा पनि माटो उत्खनन् गर्ने गिरोहसँग मिलेकाले कुनै कारबाही नगरेको र माटो उत्खनन्का कारण खिम्ति जलविद्युत् आयोजनाको प्रशारणलाइन समेत धरापमा पर्दा पनि प्रहरी प्रशासनले बेवास्ता स्थानीय बासीको भनाइ छ ।

माटो उत्खनन् एवम् बिक्री गर्नेमध्येका भुवन बुढाथोकीले माटो उत्खनन् गर्दा भएको पानीको समस्यालाई वैकल्पिक व्यवस्था गरेर पानी वितरण गर्ने तयारी गरेको बताए ।

प्रतिकृया दिनुहोस