आम्दानीको श्रोत बनमारा झार माषिक ५० हजार कमाई

 ageratina adenophora

काठमाडौँ – अर्गानिक वल्ड प्रा.ली.ले काभ्रेका विभिन्न ६ सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ ।

गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।

केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा पोल्नमै व्यस्त छन् ।

वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् । काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् ।

बारीमा लगाएको मकै, दुम्सी र बदेलले छिनमै स्वाहा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो । ‘अहिले भने मेरा सुखका दिन आए, यसरी बनको फोहोरबाट मोहोर कमाईएला भन्ने मैले सोचेको पनि थिइन्’ उनले सुनाए ।

उनीमात्र होइन, वनपाखामा त्यसै उम्रिएर हैरान हुने उन्यू, बनमारा, ऐसेलु लगायतका काँडा यतिखेर यस क्षेत्रका किसानका लागि गतिलो आम्दानीको स्रोत बनेको छ । झाँडी काटेर कृषकहरुले चारकोल बनाउन सुरु गरेसँगै यस क्षेत्रका किसानहरुको आर्थिक स्थीतिमा समेत सुधार आएको हो ।

दाउरा, काठ र सुकेका बायोमासबाट चारकोल बनाइन्छ । यसलाई गोल पनि भनिन्छ । केही समयअघिसम्म त्यसैखेर गइरहेको बुट्यानलाई काटेर जलाएपछि निस्कने चारकोलको व्यापारबाटे आम्दानी गर्न सकिन्छ भन्ने कुरा यस क्षेत्रका किसानहरुलाई थाहा थिएन ।

वनपाखामा झाँडी बढ्दा बन्यजन्तुले दुख दिएर खेतबारीमा लगाएको बालीनाली समेत नष्ट हुने गर्दथ्यो । तर अहिले झाडी कटानले गर्दा वन्यजन् तुको भय समेत खेप्नु परेको छैन ।

जैविक इन्धनको रुपमा चारकोललाई लिइन्छ । झाडी पोलेर तयार हुने चारकोलबाट खाना पाकाउन, होटल तथा रेस्टुरामा मात्र हैन ईट्टा भट्टामा कोइलाको विकल्पमा समेत प्रयोग गर्न किफायति मानिन्छ ।

चारकोल निर्माणबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनाल बताउँछन् ।

रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गर जस्ता खेर जाने बायोमासलाई विशेष प्रविधि रिट्रोट भित्र ४ र ५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोग गर्न सकिन्छ ।

कृषिजन्य अवेशष, पातपतिङ्गर, सुकेका फलफूलका बोक्रा, रुखका बोक्रा, धुलो आदिबाट पनि चारकोल तयार गर्न सकिन्छ । चारकोलको लागत ठाउँ हेरेर प्रतिकेजी १९ देखि २२ रुपैयाँ पर्दछ । इँटाभट्टामा कोइलाको प्रयोगबाट निस्कने धुवाँमा कार्वनडाइअक्साइडको मात्रा अत्यधिक रहेको जानकारहरु बताउँछन् ।

मुलुकका करिब ८ सय वटा इँटाभट्टाले वर्षमा करिब ५ लाख ६५ हजार मेक्ट्रिक टन कोइला खपत गर्दछन् । इँटा भट्टाबाहेक चारकोललाई घरायसी इन्धनको रुपमा खाना पकाउन, कोठा तताउन र होटल, रेस्टुराँलगायत अन्य उद्योग र कारखानामा पनि प्रयोगमा ल्याउन सकिने भएकाले यसको व्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने अर्गानिक वल्र्ड प्रा.लि.का संचालक राजन पराजुली बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...