मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

Madu sarwani

धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा अहिले मधुश्रावणी पर्वको रौनक छाएको छ । प्रत्येक वर्ष साउन कृष्णपक्ष मौना पञ्चमी तिथिदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

सामाजिक र सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो पर्वका अवसरमा कथा सुन्ने सुनाउने परम्परा छ ।

यस पर्वमा नवविवाहिता मैथिल पुत्री गीत गाउँदै श्रीमान्ले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर खुशीसाथ फूलबारीमा फूल टिप्छिन, यसवखत उनलाई लोकाचारसामु रंगात्मक धरातलमा समेत उभ्याइने गरिन्छ ।

मधुमासका रूपमा मनाइने साउन महिनालाई धार्मिक पर्वका रुपमा पनि लिइन्छ नागनागिनी र प्रकृतिका प्रतीकका रुपमा यो पर्वमा मुख्यतः शिव, पार्वती तथा नागनागिनीको पूजामा केन्द्रित रही १३ दिनसम्म मनाउने चलन छ ।

साउन महिनाको मौना पञ्चमीदेखि शुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वको अवधिभरि प्रत्येक दिन गौरी तथा नागनागिनीको पूजा गरी शिव पार्वती र नागसँगै सम्बन्धित कथा सुनाइने गरिन्छ ।

गौरीले दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनोकामना पूर्ण गर्ने देवी भएको कुरा गीतको माध्यमबाट व्यक्त गरिन्छ । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् मर्यादा पुरुषोत्तम श्रीरामजस्ता पति पाइन् भन्ने उदाहरण दिइन्छ ।

विधिविधानका साथ पर्वकालभरि प्रत्येक दिन गौरी नागको पूजनपछि कथा सुन्ने विधानअनुसार पहिलो दिन मौनापञ्चमी एवं विसहराको जन्मका कथा भनिन्छ, जुन नाग उत्पत्तिको कथा हो ।

यस पर्वको अन्तिम दिनको कथा समापनपछि वितरण गरिने सुहाग अंकरी, चना सुहागका प्रतीकका रुपमा रहेको पाइन्छ । पूजनकालमा केंचुआ धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोका को प्रयोग यसै पर्वको मंगलागौरीको कथा प्रसंगबाट पे्ररित भएको पाइन्छ । ।

पर्वको अन्तिम विधि ‘टेमी’मा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । यो विधि सामान्य अर्थमा अव्यवहारिक, अन्धविश्वासी, रुढिवादी परम्परामा आधारित देखिए पनि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्नसक्ने दुःख, कष्ट, पीडा खप्ने हुनु पर्दछ भन्ने अर्थमा मनाइदै आएको पाइन्छ ।

 

प्रतिकृया दिनुहोस