द्धन्द पीडितलाई ५ करोड राहत वितरण  

Rupaya

तेह्रथुम, । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई ५ करोड बढी राहत वितरण भएको छ ।

जिल्लाका १ सय ९० द्वन्द्वपीडितलाई ५ करोड १ लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी, वेदनिधि खनालले बताए ।

कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१ जना, सुरक्षाकर्मी नौजना र कर्मचारी एकजना गरी जम्मा ८१ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी १० लाख पु¥याइएको छ ।

उक्त ८१ जनामध्ये ७८ जना मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीनजनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताए ।

स्थानीय तहको चुनाव अगाडि नै राहत रकम आएको भए पनि निर्वाचन आचारसंहिताका कारण निर्वाचनपछि मात्रै वितरण गर्न भनिएकाले प्राप्त राहत रकम पूर्णरूपमा वितरण गर्न नसकिएको सम्बाहाम्फेले बताए ।

सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका ४ मध्ये २ को परिवारलाई यसअघि नै ५ लाख उपलब्ध भएको र थप ५ लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उनले बताए । बाँकी २ जना भने जीवितै भेटिएकाले उनीहरूको नाममा आएको राहत रकम फिर्ता भएको छ ।

त्यसैगरी द्वन्द्वको समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित भएका १ सय ११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी २५÷२५ हजार राहत रकम वितरण गरिएको छ ।

राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको बताइएको छ । पीडित सम्पर्कमा आउन ढिला भएका कारण केही पीडितले भने राहत पाएनन् ।

कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न जम्मा ५ करोड ४३ लाख बजेट प्राप्त भएको थियो ।

प्रतिकृया दिनुहोस