रामनाथ कोविन्द बने भारतको १४औं राष्ट्रपति

Ramnath kovind india

काठमाडौं । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाएका छन् ।

भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट ६५ प्रतिशत मत प्राप्त गरी उनी राष्ट्रपतिमा विजयी भएका हुन् ।

साउन २ मा सम्पन्न निर्वाचनपछि बिहीबार सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाए भने मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए ।

७१ वर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसकेको सीमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स ( एनडीए)’ तर्फबाट उनको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो ।

भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ मा सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्ने छन् ।

कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ । भारतको जम्मा एक अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व बनेका छन् ।

प्रतिकृया दिनुहोस