नुवाकोटमा श्राद्धको प्रसाद खाँदा ५० बिरामी

नुवाकोट, । बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौँ लागिएको छ ।

पिप्लेका भोजबहादुर आलेमगरको घरमा साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि २ परिवारका १० जनालाई काठमाडौँ लागिएको स्थानीय कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।

बिरामी पर्नेमा धु्रबबहादुर लामा र कृष्णप्रसाद लामिछानेको परिवार छन् । बिरामी भएका २८ वर्षीय लामा, उनका आमा ५२ वर्षीया सन्तमाया, २५ वर्षीया श्रीमति सुशीला र ५ वर्षीय छोरा सौरबको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यस्तै, ४० वर्षीय लामिछानेसहित उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी, छोरीहरु १६ वर्षीया सबिना र १२ वर्षीया बिना, १४ वर्षीय छोरा सन्तोषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

श्राद्धको प्रसाद खाएर बिरामी भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामै उपचार भई आएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पताल पठाइएको वडा नं। ५ का वडाध्यक्ष अनन्त नेपालले जानकारी दिए ।

बिरामी भएर गाँउमा नै रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेसहितको टोलीले उपचार गरिरहेको छ । गाउँमा रहेका ४० जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य हुँदै आएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिए ।

उनको अनुसार श्राद्धमा वितरण गरिएको अचार र सेलरोटी घरमा जम्मा भएकादेखि रोपाइँमा रहेका खेतालालाई समेत लगेर वितरण गरिएकाले धेरै जनालाई असर गरेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । श्राद्धमा वितरण गरिएको रोटी बजारबाट किनेर ल्याएको मैदा र घरको चामलको पिठो मिसाएर बनाएको र सोही रोटी विषाक्त भएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस