एकै वर्षमा ५० हजार विद्यार्थी बाहिरिए

Student copy

काठमाडौं । एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर पलायन भएका छन् ।

०७३ साउनमा २ हजार ९ सय ८६, भदौमा ४ हजार ४ सय १७, असोजमा २ हजार ६ सय ६८, कात्तिकमा २ हजार २ सय ३७, मंसिरमा ४ हजार ४ सय २९, पुसमा ३ हजार ८ सय ७५, माघमा ३ हजा ४ सय ९६, फागुनमा ६ हजार ९ सय ९५, चैतमा ४ हजार ७ सय ११ र ०७४ वैशाखमा ३ हजार ५ सय ६६, जेठमा ६ हजार ७ सय ७६, असारमा ४ हजार ४ सय १३ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३÷७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ ।

गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् । अहिलेसम्म यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन ।

यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन् । अस्ट्रेलिया जान चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ ।

अस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ । वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसा भने ११ हजार ६ सय २८ जनाले आवेदन दिएका थिए । यसरी अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेसिएको छ । तर, भिसा भने ९ हजार चार सय ६२ ले प्राप्त गरेका छन् ।

दोस्रो आकर्षक गन्तव्य जापानका लागि १० हजार चार सय १६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जापानमा भिसा लागिसकेपछि मात्र प्रतिविद्यार्थी दुई हजार नौ सय १० रुपैयाँ शुल्क लाग्छ ।

जापानका लागि ९५ प्रतिशत आवेदन सफल रहेको कन्सल्टेन्सी व्यवसायीको भनाइ छ । १० हजार विद्यार्थीको भिसा लाग्दा २९ करोडको हारहारीमा पैसा विदेश गएको छ ।

अमेरिकामा भने भिसा लागिसकेपछि नो अब्जेक्सन लेटर लिने व्यवस्था छ । युएसएमा आवेदन शुल्क १ सय ६०, सेभिस शुल्क २ सय, भिसा ग्यारेन्टी भएपछि थप २ सय गरी ५ सय ६० अमेरिकी डलर लाग्छ । यसरी अमेरिकाको भिसा प्रक्रियामा एक नेपाली विद्यार्थीको ५८ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

गत आर्थिक वर्षमा ३ हजार ४ सय ८३ जनाले अमेरिकाका लागि नो अब्जेक्सन लेटर लगेका छन् । ती विद्यार्थीको भिसाका लागि मात्र २० करोड २० लाखको हारहारीमा रकम बाहिरिएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले पढाइसँगै रोजगारीका अवसर पाइने भएकाले वैदेशिक अध्ययनमा आकर्षण बढिरहेको बताए । अस्ट्रेलिया, जापान र अमेरिका जान चाहनेले भिसा आवेदनबापत औसतमा ३० हजार रुपैयाँ बुझाउँछन् । यसरी पनि नेपाली विद्यार्थीको भिसाकै लागि एक वर्षमा एक अर्ब ५२ करोडको हारहारीमा बिदेसिएको छ ।

शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर शाखाका अनुसार एक वर्षको अवधिमा ७३ देशका लागि नेपाली विद्यार्थीले पत्र लगेका छन् । भारत जाने विद्यार्थी धेरै भए पनि नो अब्जेक्सन लिनेको संख्या भने कम छ । एक वर्षमा २ हजार २ सय ९ जनाले भारतका लागि नो अब्जेक्सन लेटर लगेका छन् ।

आर्थिक वर्ष ०७३(७४ मा १२ देशमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । कतिपय गृहयुद्ध भइरहेका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका नाममा पुगेका छन् । बेलारुस, गुयना, साउदी अरेबिया, स्विट्जरल्यान्ड, स्लोभाकिया, श्रीलंका, रिपब्लिक अफ पोल्यान्ड, होल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया र बहमासमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् ।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीबाट नेपाल सरकारले पनि एक वर्षमा १० करोडभन्दा बढी राजस्व उठाएको छ । ५० हजार ६ सय ५९ विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाउँदा गत आर्थिक वर्षमा १० करोड १३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपाली विद्यार्थीको विदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । सो विषयमा अनौपचारिक विश्लेषण मात्र हुने गरेको छ । शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर शाखा प्रमुख डिल्लीश्वर प्रधानले पछिल्लो समय विदेश अध्ययनमा जान चाहनेको संख्या धेरै बढे पनि कारणबारे औपचारिक अध्ययन नभएको बताए ।
साभार : नयाँ पत्रिका दैनिक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...